खराब कर्जा दबाइयो, सुविधा नदिएको भए २०% सम्म पुग्न सक्थ्यो : नरबहादुर थापाको विचार

काठमाडौं । मर्जरपछि वित्तीय एकाधिकार भयो । केही सीमित बैंकहरूमा मुलुकको सारा स्रोत जामको अवस्था भएको छ । अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा स्टक भएर रोकिएर राखेर स्थिति हो ।

मर्जरअघि अर्थतन्त्र चलायमान हुन्छ भन्ने जुन अपेक्षा गरिएको थियो । त्यस विपरीत वित्तीय स्रोत केही बैंकमा थुप्रिएर हलचल नहुने अवस्था आएको छ । अहिले कसैले इनिसियटिभ नलिने अवस्था आयो ।

पहिले थुप्रै बैंक तथा वित्तीय संस्था थिए । कसैले न कसैले केही इनिसियटिभ लिन्थ्ये । अर्थतन्त्रमा हलचल आउँथ्यो । राम्रै हुन्थ्यो । अब अहिले वित्तीय संस्थाहरू थोरै भए । कसैले इनिसियटिभ लिएनन् ।

थोरै हुँदा थोरैले लिने हो । तर, कसैले पनि लिएनन् भने अर्थतन्त्र चलायमान नहुने भयो । अर्थतन्त्र चलायमान नहुनुमा एउटा कारण जुन किसिमको मर्जरको मोडालिटी थियो, त्यही कारणले पनि अहिले अर्थतन्त्र विषम परिस्थितिमा आएको हो ।

अर्थतन्त्र चलायमान हुन नसकेको पहिलो मर्जरको कारणले पनि हो । दोस्रो, अहिले बैंकहरूको खराब कर्जा बढिरहेको छ । यो किन हो भने केही समस्या ग्रस्त ऋण ठूला बैंकमा पर्यो ।

साना समस्याग्रस्त संस्थाहरूलाई समेत मर्जर गरेर गएका बैंकहरूमा त्यो ऋण थपिँदै गयो । बैंक ठूलो भयो । ठूलो बैंक भएपछि सम्पन्न भयो । ऋण हेर्दै गरौंला अहिले ठीकै छ भन्ने भयो । तर, ऋण असुलीको आदेश भएन् ।

सानो बैंक हुन्थ्यो भने खराब कर्जाको समस्या समाधान नगर्दासम्म उसको मुख्य काम नै रोकिन्थ्यो । ठूलो बैंकमा त्यस्तो समस्या आउँदा पनि तत्कालै असर परेन् । तर, ती समस्याहरू समाधान गरेर नराख्दा कुनै न कुनै दिन बल्झिएर आउँछ । अहिले त्यो बल्झिएर आयो, मर्जरको कारणले त्यो भएको जस्तो लाग्छ ।

अर्को, मर्जरपछि बैंकको लागत घट्छ भन्ने थियो । तर, त्यो वित्तीय मध्यस्थता लागत घटेको देखिँदैन । मर्जरपछि जुन इफिसेन्सी, कार्यकुशलता हुनुपर्ने थियो त्यो भएन । इकोनमीको स्केलमा काम गर्नुपर्नेमा डिसइकनोमिको स्केलमा काम गरे ।

साइज बढ्दा लागत घट्छ भन्ने थियो । एउटा विन्दुसम्ममा त्यो हो । तर, त्योभन्दा उता साइज बढ्दा लागत बढ्छ । अहिले ठूला बैंकहरू यत्ति ठूला भए कि लागत घट्नुको साटो बढिराखेको अवस्था पनि छ । त्यही कारणले उनीहरूको वित्तीय संस्थाको मध्यस्थता लागत घट्नु पर्र्ने हो त्यो घटेको देखिँदैन ।

गलत तरिकाले मर्जर नीति अबलम्बन गर्दा यस्तो अवस्था आएको हो । वाणिज्य बैंकमा बैंक मात्रै गर्ने हो कि, वाणिज्य बैंकले विकास बैंक र वित्त कम्पनीलाई खाइ दियो यस्तो विभिन्न मोडालिटी छ । यो मोडालिटी इफेक्टिभ नभएका कारणले मर्जरबाट जुन लाभ लिनुपर्ने हो, त्यो लाभ लिन नसकेको अवस्था डेटाले देखाउँछ ।

खराब कर्जा दबाइयो, २० प्रतिशत पुग्न सक्थ्यो

अहिले यो खराब कर्जा भनेको सप्रेष्ट हो । पुनरतालिकीकरण, कर्जा रिनेबल, चालु पूँजीमा नवीकरण आदिको व्यवस्था हटाउने हो भने केही खराब कर्जाको अनुपात २० प्रतिशतसम्म पुग्न सक्ने खतरा छ । यो दबाइएको हो, कर्जा पुनरतालिकीकरण, नवीकरण गरेर ।

ओडी, चालु पूँजी प्रकृतिको कर्जा दिइरहेका छन् । यसलाई एक वर्षमा सेटल गर्नुपर्ने हुन्छ । त्यो सेटल नवीकरण गरेर भइरहेको छ । यही कारणले खराब कर्जा अनुपात न्यून देखिएको हो ।

चालु पूँजी प्रकृतिको कर्जालाई अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार व्यवहार गर्ने हो भने २० प्रतिशत खराब कर्जा जान्छ । २० प्रतिशतको आँकडा कसरी आएको हो भने चालु पूँजी प्रकृतिको कर्जा करिब १९ खर्ब रुपैयाँ छ । यो कुल कर्जाको ४० प्रतिशत हो ।

यो ४० प्रतिशत मध्ये ५० प्रतिशत राम्रो र प्रफर्मिङ छ भने पनि त्यत्ति नै रकम नवीकरण गरेर कागजात मिलाएर गरेको हो भन्ने हो भने अहिले खराब कर्जा अुनपात २० प्रतिशत आउँछ ।

यो हिस्सा नवीकरण मात्रै गरिरहनुपर्ने ? त्यसले नयाँ उद्यमी जन्मिन नपाउने भए । वित्तीय पहुँचको दुरुपयोग भयो । यसैलाई नवीकरण गरेर जाने हो भने इनोभेटिभ भएन् । त्यसैले मर्जरपछि वित्तीय पहुँचको कर्जामा दुरुपयोग व्यापक रूपमा बढ्यो । सीमित वित्तीय पहुँचको कब्जामा वित्तीय स्रोत गयो । मर्जरको मूल्यांकन गर्दा यी विषयहरूलाई बिर्सनु हुँदैन ।

मन्दीको अवस्थामा प्रतिफल धेरै खोज्नु अशोभनीय

प्रतिफल रिलेटिभ कुरा हो । यो तुलनात्मक हुनुपर्छ । यो अवधारणा भनेको डिपेन्ड हो । अर्थतन्त्रले राम्रो गरिरहेको छ भने यसका अंगहरू सबैको राम्रै व्यापार व्यवसाय हुन्छ, राम्रै हुन्छ ।

अर्थतन्त्रले राम्रो गरिरहेको छैन भने हिजोकोभन्दा आज वित्तीय स्थिति नराम्रो भन्न नमिल्ला तर ठिकै भन्ने हुन्छ । सारा अर्थतन्त्रका अंगहरू खतम हुने बैंक तथा वित्तीय संस्था मात्रै स्वर्गमा बस्ने कुरा आउँदैन ।

त्यसैले पोहोर ८०/९० अर्ब नाफा गरेका थिए, अहिले मन्दीको अवस्था छ भने त्यत्ति नै गर्नुपर्छ भन्ने छैन । ४०/५० पनि राम्रै मान्नुपर्छ । अर्थतन्त्र मन्दीमा जाँदा पनि ठीकै छ भन्ने कुरा हो ।

अर्थतन्त्रले राम्रो गरे मात्रै बैंक तथा वित्तीय क्षेत्र पनि उत्तिकै राम्रो हुन्छ भन्ने अवधारणा तुलनात्मक हुन्छ । सूचकहरूको मुल्यांकन पनि अर्थतन्त्रलाई आधार मानेर गर्नुपर्ने हुन्छ । जब कुल जीडीपी २ प्रतिशत मात्रै हुने भनेर राष्ट्रिय तथ्यांक कार्यालयले देखाइरहेको छ । यस्तो अवस्थामा नाफामा स्थिति के हुने भन्ने हो ।

समग्र अर्थतन्त्रको प्रर्फम २ प्रतिशत बैंकको तथा वित्तीय संस्थाको ४/५ प्रतिशत भए त्यसलाई राम्रो मान्नुपर्छ । दुई वर्ष पहिले १२/१५ प्रतिशत थियो अहिले पनि त्यही हुनुपर्छ भन्दा ज्यादती हुन्छ ।

यो रिलेटिभ कुरा हो । बैंकहरूको प्रतिफल विश्लेषण गर्दा जीडीपीको अवस्था पनि के छ भनेर मूल्यांकन गर्नुपर्दछ । (राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थशास्त्री थापासँग  सुनिल कुँवरले गरेको कुराकानीमा आधारीत)

 

 

अपर तामाकोशीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

अपर तामाकोशीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

मधेश प्रदेशले बाढीपीडित जिल्लामा १०/१० लाख पठाउने Read Next

मधेश प्रदेशले बाढीपीडित जिल्लामा १०/१० लाख पठाउने