काठमाडौं । माउण्टेन इनर्जी नेपालको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा ३३.५५ प्रतिशतले घटेको हो ।
कम्पनीले गत असार मसान्तसम्म ४० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै २१ करोड कम हो । अघिल्लो वर्ष कम्पनीले ६१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत् बिक्रीबाट हुने आम्दानी घट्दा र वित्तीय खर्च बढ्दा कम्पनीको नाफामा ठूलो गिरावट आएको हो । गत वर्ष कम्पनीले १ अर्ब २१ करोड ७९ लाख रुपैयाँको बिजुली बेचेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २३ करोड ४४ लाख रुपैयाँको विद्युत् बिक्री गरेको थियो ।
हाल १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २० करोड ५९ लाख रुपैयाँ छ ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ३१.०५ रुपैयाँबाट बढेर २०.६३ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १६१.२८ रुपैयाँ पुगेको छ ।
माउन्टेन इनर्जी नेप्सेमा सूचीकृत भएका ७९ हाइड्रोपावर मध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । मंगलबार यसको सेयर प्रतिकित्ता ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।