नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल (उद्दार सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ। सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यू टनेलको ब्रेक थ्रु गरेका हुन् । २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको उक्त सुरुङमार्गको ३९ महिनापछि ब्रेक थ्रु भएको हो । यो सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ ।

मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । २.६ किमी लम्बाइ रहेको मुख्य सुरुङ अब ५०६ मिटर खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको प्रवक्ता कोइरालाले बताए । उनले फ्लाइओभर निर्माणको काम पनि भइरहेको बताए । हालसम्म फ्लाइओभरको ३ वटा फाउन्डेसन र २ वटा सबस्ट्रक्चर निर्माण भइसकेको छ ।

यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ । नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

३८ लाख पुग्यो सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या, बर्सेनि अर्बौं दायित्व थपिँदै Read Previous

३८ लाख पुग्यो सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या, बर्सेनि अर्बौं दायित्व थपिँदै

रिलायबल लाइफको प्रिमियममा आइपीओ खुल्यो Read Next

रिलायबल लाइफको प्रिमियममा आइपीओ खुल्यो