लगातार घट्दै बैंकको आधारदर, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ?

काठमाडौं । वाणिज्य बैंकहरूको बेसरेट (आधारदर) सस्तिँदै गएको छ । बैंकहरूले गत आर्थिक वर्षको तेस्रो त्रैमासदेखि निक्षेपको ब्याजदर घटाएसँगै आधारदर सस्तो हुँदै गएको हो ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार असार मसान्तमा बैंकहरूको आधारदर औसतमा १०.०५ प्रतिशतमा झरेको छ । बैंकको बेसरेट घटेको यो लगातार तेस्रो त्रैमास हो ।

चैत मसान्तसम्म औसतमा १०.४८ प्रतिशत रहेको बैंकको बेसरेट असार मसान्त आइपुग्दा ०.४४ आधार विन्दुले घटेको हो । २०७७ चैतमा ६.९१ प्रतिशत रहेको बैंकको आधारदर त्यस यता लगातार उकालो लागेकोे थियो भने गत पुसदेखि ओरालो लागेको थियो ।

गत वर्षको पुसदेखि असार मसान्त आइपुग्दा बैंकहरूको बेसरेट औसतमा ०.७३ आधार विन्दुले घटेको छ । यद्यपि, अघिल्लो वर्षको असारको तुलनामा अहिले पनि बैंकको बेसरेट महँगो नै छ । अघिल्लो वर्षको असार मसान्तमा वाणिज्य बैंकको आधारदर ९.३१ प्रतिशत रहेको थियो ।
२०७९ पुसमा बैंकको बेसरेट ३ वर्ष यताकै उच्च १०.७८ प्रतिशत पुगेको बैंकको आधारदर त्यसयता घट्दै आएको छ । वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाँदा बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि त्यसको फेरबदल आधार दरमा पनि देखिएको हो ।

गत वर्षको दोस्रो त्रैमाससम्म ११.९९ प्रतिशत पुगेको निक्षेपको ब्याजदर अहिले औसतमा १० प्रतिशत हाराहारीमा छ । विगत लामो समयदेखि कार्टेलिङ गरेर एउटै ब्याजदर तोक्दै आएका बैंकहरूले चालु आवको साउनदेखि भने आफूखुसी ब्याजदर तोकेका छन् । साउनका लागि केही बैंकले ब्याजदर बढाएर १०.९८ प्रतिशतसम्म तोकेका छन् भने केहीले ९ प्रतिशत तोकेका छन् ।

बैंकहरूले निक्षेपकै ब्याजदर गत फागुन यता दुईपटक घटाइसकेका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकको लागत घटेर आधारदर पनि घटेको हो । बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । नेपाल राष्ट्र बैंकले गत वैशाखदेखि प्रत्येक महिना आधारदर हेरफेर गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसअघि बैंकको लागत अनुसार प्रत्येक तीन/तीन महिनामा आधारदर तय गरिँदै आएको थियो । आधारदरले नै कर्जाको ब्याजदर तय गर्ने भएकाले त्यसमा जति छिटो फेरबद्ल आयो त्यत्ति नै चाँडो ऋणीले सस्तो कर्जा पाउँछन् ।गत वर्षको वार्षिक वित्तीय विवरण हेर्दा बैंकको आधारदर ९ महिना यताकै सस्तो भएको देखिन्छ । यसले कर्जाका ऋणीलाई थप राहत पुर्याउनेछ ।

बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिने ऋणको ब्याजदर सोही आधादरले तय गर्छ । अहिले बैंकहरूको औसत बेसरेट साढे १० प्रतिशत रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्दा करिब १५ प्रतिशतमा ऋण पाउने देखिन्छ ।

अहिले पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ भने कर्जाको माग बढ्न सकेका छैन । प्रणालीमा पैसा मात्र थुप्रिरहेको तर, लगानी हुन नसकेकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपको ब्याजदर घटाउन सक्ने देखिन्छ । निक्षेपको ब्याजदर घटेका बैंकको आधारदर घट्न गई ब्याजदर सस्तो हुने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

कुन बैंकबाट ऋण लिँदा सस्तो ?

आधारदरले बैंकको कर्जाको ब्याजदर फरक पार्ने भएकाले न्यून आधारदर भएका बैंकहरूबाट ऋण लिँदा ऋणीले कम ब्याज तिर्नु पर्छ । यद्यपि, ऋणको प्रकृति हेरेर आधारदरमा कति प्रिमियम थप्ने भन्ने कुराले पनि ब्याजदर सस्तो र महँगो तय गर्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । असार मसान्तमा बैंकहरूको औसत बेसरेट १०.०५ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशत प्रिमियम जोड्दा अबिले बैंकहरूले अधिकतम १५.०५ प्रतिशतमा कर्जा उपलब्ध गराउँदै आएका छन् । यद्यपि, केही बैंकले बेसरेटमा न्यूनतम प्रिमियम जोडेर ११/१२ प्रतिशत ब्याजदरमै ऋण दिँदै आएका छन् ।

असार मसान्तसम्म ८ बैंकको बेसरेट औसतभन्दा कम रहेको छ भने १२ बैंकको औसतभन्दा धेरै छ । गत आवको वित्तीय विवरण अनुसार बैंकहरूको बेसरेट न्यूनतम ७.७९ प्रतिशतदेखि अधिकतम १०.९ प्रतिशतसम्म पुगेको तथ्यांकले देखाउँछ । जसमा सबैभन्दा राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ७.७९ प्रतिशत छ । यस बैंकबाट कर्जा लिँदा ग्राहकहरूले सबैभन्दा कम ब्याजदरमा ऋण पाउने देखिन्छ । अर्थात् वाणिज्य बैंकबाट अधिकतम १२.७९ प्रतिशत ब्याजदरमा ऋण पाउन सकिन्छ

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट ९.०२ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.३६, एभरेष्ट बैंकको ९.४७ प्रतिशत आधारदर रहेको छ । सबैभन्दा धेरै कुमारी बैंकको १०.९, हिमालयन बैंकको १०.८६ प्रतिशत आधारदर रहेको छ । लक्ष्मी सनराइजको १०.७५, माछापुच्छ्रे र एसबीआई बैंकको १०.७४ प्रतिशत आधारदर रहेको छ ।

यसैगरी, प्राइम, सिटिजन्स इन्टरनेशन, एनएमबी, ग्लोबल, प्रभु, सानिमा र कृषि विकास बैंकको आधारदर १०÷१० प्रतिशतभन्दा माथि रहेको छ । एनआइसी, नेपाल बैंक, सिद्धार्थ र नबिल बैंकको ९÷९ प्रतिशतभन्दा माथि आधारदर छ ।

 

नागढुंगा-नौविसे सुरुङमार्गको रेस्क्यू टनेल आज 'ब्रेक थ्रु’ हुँदै Read Previous

नागढुंगा-नौविसे सुरुङमार्गको रेस्क्यू टनेल आज 'ब्रेक थ्रु’ हुँदै

ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा (सूचीसहित) Read Next

ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा (सूचीसहित)