काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा ठूला बैंक बीच ‘नम्बर वान’ बन्न तीव्र प्रतिस्पर्धा देखिएको छ । बिग मर्जरपछि ठूला बनेका बैंकहरू बीच आकार, व्यवसाय विस्तारदेखि खुद नाफामा समेत कडा टक्कर देखिएको छ ।
विगत एकदशक अघिसम्म नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गथ्र्यो ।
तर, पछिल्ला वर्षहरूमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको थियो । यद्यपि, अहिले इन्भेष्टमेन्ट बैंकको डुबेको केही ऋण असुल गरिसकेको छ भने मेगा बैंकसँग मर्जर गरी फेरि आफूलाई प्रतिस्पर्धामा उभ्याएको छ ।
बीचका केही वर्ष नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । अधिकांश वित्तीय सूचकमा नबिल बैंकले ‘नम्बर १’को ताज पहिरिरह्यो । पछिल्लो ३ वर्ष यता नबिललाई एनआइसी एशियाले टक्कर दिन थालेको देखिन्थ्याे । तर, अहिले एनआइसी नबिलको तुलनामा निकै पछि छ ।
अहिले नबिलको प्रतिस्पर्धी बनेर आएको छ ग्लोबल आइएमई बैंक । पछिल्लाे ३ वर्षमा २ वटा वाणिज्य बैंक आफूमा गाभेको ग्लोबल बिग मर्जरको सिनर्जीबाट लम्किँदै नबिलसँग प्रतिस्पर्धाम उत्रिएको छ ।
हाल चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमईले अघिल्लो वर्ष जनता बैंक गाभेको थियो भने गत वर्ष बैंक अफ काठमाडौंलाई गाभेको थियो । यस्तै, नबिलले पनि नेपाल बंगलादेशलाई गाभेर चुक्ता पूँजीका आधारमा पनि आफूलाई ठूलो बनाएको छ ।
कुन सूचकमा को अब्बल ?
अहिले विगतदेखि नै बैंकिङ लिडरको रुपमा रहेको नबिल र ग्लोबल आइएमई बैंक बीच नम्बर वान बन्न तीव्र प्रतिस्पर्धा देखिएको छ । वासलतका मुख्य सूचकहरूमा यी दुई बैंक बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।
वर्षौंदेखि अग्रणी बन्दै आएको नबिल र पछिल्ला २ वर्ष यता नम्बर १ बन्ने होडमा दौडिएको ग्लोबल बीच अहिले तीव्र प्रतिस्पर्धा देखिएको छ । यी दुई बैंक बीच को अग्रणी बन्ला, कसले बैंकिङ क्षेत्र लिड गर्ला त्यो भविष्यले नै बताउला । तर, गत आर्थिक वर्ष वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा भने नबिलले अझै आफ्नो वर्चश्व कायमै राखेको छ भने केही सूचकमा ग्लोबलले नबिललाई पछि पार्न थालेको छ । वासलतमा प्रकाशन हुने मुख्य डेढदर्जन बढी वित्तीय सूचकमध्ये आधादर्जन सूचकमा ग्लोबल अघि रहेको छ ।
सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने मुख्य सूचकहरू, खुद नाफा, वितरण योग्य नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोष जस्ता सूचकमा नबिल अगाडि रहेको छ भने चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा, लगानी, शाखा लगायत सूचकमा ग्लोबल अघि रहेको छ ।
चुक्ता पूँजी : चुक्ता पूँजीका आधारमा ग्लोबल अगाडि रहेको छ । ग्लोबलको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने नबिलको २७ अर्ब ५ करोड रहेको छ ।
जगेडा कोष : जगेडा कोषका आधारमा नबिल निकै बलियो देखिएको छ । नबिलको जगेडा कोषमा चुक्ता पूँजीभन्दा धेरै रकम संचित छ । नबिलको जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ संचित छ भने ग्लोबलको १९ अर्ब ९५ करोड छ । त्यस्तै, नबिलको रिटेन्ड अर्निङमा ३ अर्ब ९६ करोड रुपैयाँ छ भने ग्लोबलको २ अर्ब ९५ करोड संचित छ ।
खुद नाफा : खुद नाफामा पनि नबिले ग्लोबललाई पछि पारेको छ । गत वर्ष नबिलले ७ अर्ब ५२ करोड खुद नाफा कमाएको छ भने ग्लोबलले ७ अर्ब २५ करोड कमाएको छ । नबिलको भन्दा ग्लोबलको चुक्ता पूँजी ८ अर्ब बढी भए पनि नबिलले २७ करोड बढी नाफा कमाएको छ ।
निक्षेप र कर्जा लगानी : व्यवसायमा भने ग्लोबलले नबिललाई पछि पारेको छ । अर्थात् निक्षेप संकलन र कर्जा लगानी दुवैमा ग्लोबल अघि रहेको छ । गत वर्ष ग्लोबलले ४ खर्ब २६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको छ भने नबिलको निक्षेप संकलन ३ खर्ब ९६ अर्ब र कर्जा ३ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले प्राथमिकताका साथ हेर्ने प्रतिसेयर आम्दानीमा नबिल अघि रहेको छ । नबिलको प्रतिसेयर आम्दानी २७.८२ रुपैयाँ रहेको छ भने ग्लोबलको २०.२८ रुपैयाँ छ ।
वितरण योग्य नाफा : सेयरधनीललाई दिने लाभांशमा पनि नबिल अघि रहेको छ । विगतका वर्षहरूमा पनि सेयरधनीलाई बम्पर लाभांश दिँदै आएको नबिलको वितरण योग्य नाफा ३ अर्ब ९६ करोड रहेको छ । यसबाट सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश दिन सक्छ । ग्लोबलको वितरण योग्ग नाफा २ अर्ब ९५ करोड रुपैयाँ छ । जसबाट बैंकले ८.२७ प्रतिशत लाभांश दिन सक्छ ।
प्रतिसेयर नेटवर्थ : प्रतिसेयर नेटवर्थमा पनि नबिल नै अघि छ । नबिलको प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ छ भने ग्लोबलको १६४.०५ रुपैयाँ छ ।
बेसरेट : आधारदर नबिल बैंकको सस्तो रहेको छ । नबिलको आधारदर ९.५२ प्रतिशत मात्र रहेको छ भने ग्लोबलको १०.२ प्रतिशत रहेको छ ।
यसरी विभिन्न सूचकमा आधारमा हेर्दा ग्लोबल र नबिल कडा प्रतिस्पर्धी मात्र नभई लिडर बन्ने होडमा छन् । नबिललाई विगतदेखिको विरासत जोगाउने चुनौती छ भने बिगमर्जरको सिनर्जीबाट चम्केको ग्लोबललाई नबिलको व्यावसायिक रणनीतिलाई उछिन्दै अघि बढ्न निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
नोट : प्रस्तुत तथ्यांक दुवै बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट लिइएको हो ।