काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएकाे झन्डै १०० किलो सुन प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त सुनकाण्डको थप अनुसन्धान प्रक्रिया सीआईमार्फत अघि बढाउन निर्देशन दिएका हुन् ।
बिहीबार प्रधानमन्त्री दाहाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर, सीआइबी प्रमुख एआइजी किरण बज्राचार्य लगायतसँग सुन काण्डको अनुसन्धान बारेमा छलफल गरेको थिए । त्यसपछि प्राप्त सुझवमा आधारमा प्रधानमन्त्रीले थप अनुसन्धान गर्ने जिम्मा सीआइबीलाई दिन निर्देशन दिएको बताइएको छ ।
हाल सुन काण्डको बारेमा प्रधानमन्त्री मातहत रहेको राजस्न अनुसन्धान विभागले अनुसन्धान गर्दै आएको छ । सुन तस्करीको अनुसन्धान राजस्व छलीमात्रै नभएर सांगठनिक अपराध पनि भएकाले प्रहरीलाई जिम्मा लगाउनुपर्ने आवाज उठ्दै आएको थियो । तर, विभागले प्रहरीसँग एक जना प्रहरीको साथ मागेको थियो । विभागले प्रहरीसँग सहयोग मागेपछि एसपी कृष्ण पंगेनीलाई पठाइएको थियो ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् । हालसम्म विभागले उक्त प्रकरणमा नेपाली, चिनियाँ, बेल्जियमका नागरिकसहित १९ जनालाई पक्राउ गरिसकेका छ ।
यो सुन प्रकरणको अनुसन्धान गर्न प्रमुख प्रतीपक्ष नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै संसद अबरुद्ध गर्दै आएको छ ।