मौद्रिक नीतिले ‘बिच्किएको’ सेयर बजार, किन घट्यो लगानीकर्ताको मनोबल ?

काठमाडौं । मौद्रिक नीतिअघि ३ महिनामा ४०० अंकले बढेको नेप्से त्यस यताको दुई सातामै झन्डै १५० अंकले घटेको छ । २ वर्षदेखि वियरिस ट्रेन्डमा रहेको नेप्सेले वैशाख यता विस्तारै लय समातिरहेको भए पनि नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति जारी गरेपछि लगातार घटिरहेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा भएको अधिक तरलता, घट्दो ब्याजदर लगायत कारणले बजारले गति लिएको लगानीकर्ताले बताएका थिए । तर, राष्ट्र बैंकले मौद्रिक नीतिमा लगानीकर्तालाई झुक्याएपछि बजारले फेरि ओरालो लागेको उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकले विद्यमान अवस्थाको तुलनामा मौद्रिक नीतिमा सेयर बजारप्रति केही लचकता अपनाएको छ । तर, लगानीकर्ताको अपेक्षा र माग सम्बोधन नहुँदा बजारले गति लिन नसकेको हो ।

राष्ट्र बैंकले साउन ७ गते मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपछि सो दिन नेप्से ६३ अंकले बढेको थियो । तर, मौद्रिकनीतिपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर कर्जाको मात्र जोखिमभार १५० प्रतिशतबाट १०० प्रतिशतमा झारिएको बताएपछि लगानीकर्ता निराश हुँदा बजार लगातार ओरालो दिशामा छ ।

पूँजी बजारका विश्लेषक मुक्ति अर्याल लगानीकर्ताले अपेक्षा गरे अनुसार ‘एक्सपान्सनरी’ मौद्रिक नीति नआउँदा बजार बढ्न नसकेको बताउँछन् । ‘लगानीकर्ताको अपेक्षा एक्सपान्सनरी मौद्रिक नीति आओस् । कर्जाको जोखिम भारमा राम्रै रिभाइज गरोस् र १२ करोडको सीमा पनि हटाओस् भन्ने अपेक्षा थियो । तर, त्यो अनुसार भएन,’ उनले भने ।

सेयर धितो कर्जाको जोखिमभारको विषयमा राष्ट्र बैंकले ‘ट्वीस्ट’ गर्दा लगानीकर्तालाई गभर्नरप्रति विश्वास नै नरहेको उनले बताए । ‘मौद्रिक नीतिमा जुन जोखिम भारको विषय थियो । त्यसलाई गभर्नरले ट्वीस्ट गरिदिए,’ उनले भने, ‘लगानीकर्तालाई गभर्नरप्रति विश्वास नै रहेनन । मौद्रिक नीतिले बजारको लागि जुन नीति ल्याउनु पथ्र्यो त्यो ल्याएको देखिएन ।’

दुई वर्षअघि ३१९८ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक त्यसपछि निरन्तर घटिरहेको छ । राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सीमा १२ करोड र जोखिमभार १५० प्रतिशत कायम गरेको थियो ।

राष्ट्र बैंकको सोही नीतिगत कडाइ र अर्थतन्त्रमा आएको संकूचनका कारण सेयर बजार परिसूचक दुई वर्षमा नेप्से १४०० अंकले घटेर १८०० विन्दुसम्म आइपुगेको थियो ।

सेयर लगानीकर्ता छोटेलाल रौनियार पनि मौद्रिक नीति आउनुअघि लगानीर्ताको एक प्रकारको मनोविज्ञान रहे पनि राष्ट्र बैंकले त्यसलाई फेरिदिएको बताउँछन् । ‘मौद्रिक नीतिबाट लगानीकर्ताले १२ करोडको सीमा हट्ने, जोखिमभार १५० बाट शतप्रतिशत कायम हुने र ब्याजदर घट्छ भन्ने अपेक्षा गरेका थिए,’ उनले भने, ‘मौद्रिक नीति आउन अघिसम्म उत्साह पनि थियो । तर, जब राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर जानकारी गरायो, त्यसपछि नीतिगत कडाइका सीमा हटेको रहेनछ भन्ने थाहा भयो ।’

किन बढेन लगानीकर्ताको मनोबल ?

घट्दो ब्याजदर, प्रणालीमा पर्याप्त तरलता लगायत बजारलाई फेबर गर्ने सबै कुरा भए पनि मौद्रिक नीतिले लगानीकर्ताको मनोबल बढाउन नसकेको र गभर्नरप्रति अविश्वास बढेको उनीहरू बताउँछन् ।

अर्यालले लगानीकर्ता वित्तीय संस्थाको वार्षिक रिपोर्ट पर्खिरहेको बताए । ‘संस्थाहरूको वार्षिक वित्तीय विवरण आउनै बाँकी छ । आएकाहरूको पनि राम्रो छैन,’ उनले भने, ‘वित्तीय संस्थाहरूको रिपोर्ट पनि लगानीकर्ताले पर्खिरहेका छन् । राम्रो देखिए मार्केट टपअप हुन्थ्यो ।’

रौनियार अब लगानीक्र्ता आवेशमा आउन नहुने बताउँछन् । ‘लगानीकर्ता पनि आवेसमा आउनु हुँदैन । मौद्रिक नीतिमा राम्रो छैन भने नराम्रो पनि केही छैन,’ उनले भने, ‘पूँजी बजारलाई बिगार्ने काम मौद्रिक नीतिले केही गरेको छैन । लगानीकर्ताको मनोविज्ञानमा पनि परिवर्तन आउन जरुरी छ ।’

अहिले पूँजी बजारलाई नराम्रो असर गर्ने केही नभएको भन्दै लगानीकर्ता पनि बुझेर सम्हालिँदै जाने उनले बताए । गभर्नर अधिकारीको चलखेलपछि बिच्किएका लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेको छ । सेयर धितो कर्जाको सीमा र जोखिमभार नघटे पनि घट्दो ब्याजदरले विस्तारै लगानीकर्ताको मनोबल बढाउने अपेक्षा छ ।

त्यस्तै, अहिले सूचीकृत कम्पनीहरूले धमाधम गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । अब लगानीकर्ताले कम्पनीहरूले लाभांश क्षमता हेरेर आफ्नो रणनीति बनाउँछन् । अब लाभांको सिजन सुरु हुने भएकाले मनोबल केही बढ्ने लगानीकर्ता बताउँछन् ।

लगानीकर्ताले २ वर्षमै गुमाए २० खर्ब

२०७८ भदौ २ गते इतिहासकै सर्वाधिक ३१९८ विन्दुमा पुगेको नेप्से परिसूचक बिहीबार २०८९ को अंकमा रोकिएको छ । यस अवधिमा लगानीकर्ताले झन्डै २० खर्ब रुपैयाँ गुमाएका छन् ।

नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब पुगेको थियो । २०८० साउन १८ सम्म आउँदा ३० खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ । यसलाई आधार मान्दा लगानीकर्ताहरूको सम्पत्तिको मूल्यमा १५ खर्ब रुपैयाँ बढीले गिरावट आएको छ । अझ यसै समयभित्र सेयर बजारमा झन्डै ५ दर्जन नयाँ कम्पनी थपिएका छन् ।

अर्याल दुई वर्षअघिका मात्रै कम्पनीको मार्केट क्याप अहिले हेर्दा लगानीकर्ताको २०/२२ खर्ब रुपैयाँले मूल्यमा गिरावट रौनियार आएको बताउँछन् । ‘त्यो बेला र अहिले कम्पनीको संख्या एउटै छैन । यो दुई वर्षमा धेरै कम्पनी बजारमा आइसके । यी कम्पनीको पनि बजार पूँजीकरण थपिएको छ,’ उनले भने, ‘त्यो बेलामा भएका कम्पनीको मात्रै मार्केट क्याप अहिले राख्र्ने हो भने २०÷२२ खर्ब रुपैयाँले घटेको छ ।’

२०७८ साउनसम्म नेप्सेमा सूचिकृत कम्पनीको संख्या २२० थियो भने अहिले २८० बढी पुगिसकेका छन् ।

 

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ देखि आइपीओ बिक्री गर्दै Read Previous

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ देखि आइपीओ बिक्री गर्दै

महोत्तरीमा भन्सार छलेर ल्याइयो साढे ७ करोडको सामान, २२० वटा सवारीसाधन Read Next

महोत्तरीमा भन्सार छलेर ल्याइयो साढे ७ करोडको सामान, २२० वटा सवारीसाधन