काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) भएपछि बैंकहरूले घर कर्जा लगानीमा चासो देखाउन थालेका छन् । राष्ट्र बैंकको कडाइ र तरलता अभावका कारण घरकर्जाका लगानी गर्न चासो नदेखाएका बैंकहरूले अहिले स्कीम ल्याएर कर्जा लगानी गर्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगत घर कर्जामा केही लचकता अपनाएपछि बैंकहरूलाई कर्जा लगानी गर्न झन् सहज हुने भएको छ । मौद्रिक नीतिले व्यक्तिगत आवासीय घरकर्जाको सीमा बढाएर २ करोड रुपैयाँ सम्म पुर्याएको छ भने रियलस्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।
ऋण लगानीको बाटो खोजिरहेका बैंकहरूले विभिन्न ब्याजदर स्कीममा घरकर्जा दिइरहेका छन् । निरन्तर पेयब्याक आइरहने, जोखिमयुक्त कर्जामा परिणत हुने सम्भावना कम हुनुका साथै बिजनेशको ठूलो हिस्सा ओगट्ने भएकाले बैंकहरूले आकर्षक ब्याजदरमा रियल स्टेट तथा होम लोन उपलब्ध गराइरहेका हुन् ।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार घरकर्जाको ब्याज बैंक अनुसार १० देखि १६ प्रतिशतसम्म रहेको छ । बैंकको आधारदरमा आउने फेरबदल अनुसार कर्जाको ब्याज परिवर्तन् हुन्छ । यद्यपि, स्थिर ब्याजदर कर्जा योजना समेत संस्थाहरूले ल्याएका छन् ।
बैंकहरूले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर घरकर्जाको ब्याजदर तय गरेका छन् । कुनै बैंकले निश्चित अवधिका लागि स्थिर ब्याजदर तोकेका छन् भने कुनैले आधारदरमा आएको फेरबदल अनुसार ब्याजदर फरक पर्ने गरी तोकेका छन् । यसरी आधारदरमा तोकिएसम्म प्रिमियम थप गरेर ग्रहाक र बैंक बीच ऋण सम्झौता हुन्छ । उक्त सम्झौता पछि बैंकले कर्जामा प्रिमियम बढाउन पाउँदैनन् भने आधार दरमा आएको फेरबदल अनुसार ब्याजदर फरक पर्छ ।
निश्चित अवधि पाँच, दश वर्षका लागि हुने स्थिर कर्जा स्किममा भने सोही ब्याजदर रहन्छ । चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा तरलता थुप्रिए पनि माग नहुँदा बैंकहरूले व्यवसाय बढाउन सकेका छैनन् । सोही कारण कर्जा लगानीका लागि विभिन्न मागका क्षेत्रहरू खोजिरहेका छन् ।
राष्ट्र बैंकका अनुसार गत वर्षको असार मसान्तसम्म रियलस्टेट र व्यक्तिगत आवासीय गरेर बैंकहरूले ५ खर्ब रुपैयाँ बढी ऋण लगानी गरेका छन् ।
कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?
सबैभन्दा धेरै नेपाल एसबीआई बैंकले १५.९९ प्रतिशतसम्म घरकर्जाको ब्याजदर तोकेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर सो ब्याजदर निर्धारण गरेको हो । हिमालयन बैंकले १५.९२ प्रतिशत ब्याजदर तय गरेको छ ।

कुमारी बैंकले १५.४ प्रतिशतसम्म अधिकतम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर सो ब्याज तोकेको हो । सबैभन्दा कम ब्याजदर सिद्धार्थ बैंकको रहेको छ । यस बैंकले निश्चित अवधिका लागि स्थिर ब्याजदर १०.९९ प्रतिशत तोकेको छ ।
यसैगरी, सिटिजन्स र ग्लोबल आइएमई बैंकले पनि स्थिर ब्याजदर ११ प्रतिशत तोकेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आधारदर ८.०२ मा ३.२५ प्रतिशतसम्म प्रिमियम थपेर घरकर्जाको दिने जनाएको छ ।
नेपाल बैंक १३.०५, माछापुच्छ्रे १२, प्रभु बैंक १२.९९ प्रतिशत, प्राइम बैंक १३, नबिल १४.५२, एनआइसी एसीया बैंकले १४.९९ प्रतिशत घरकर्जाको ब्याजदर निर्धारण गरेका छन् ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, कृषि विकास र स्ट्यान्डार्ड चार्टर्ड बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण प्रवाह गर्ने जनाएका छन् ।