जीवन बीमा व्यवसायलाई धक्का, एक वर्षमै १ लाख पोलिसी ‘सरेन्डर’

काठमाडौं । जीवन बीमा व्यवसायमा बीमा पोलिसी सरेन्डर (समर्पण) गर्ने क्रम ह्वात्तै बढेको छ । यसअघि बीमा गरेका बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गरेका हुन् ।

गत आर्थिक वर्षमा मात्रै १ लाख बढीले बीमा पोलिसी सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १ लाख ४ हजार ५०६ वटा जीवन बीमालेख सरेन्डर भएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २७.६६ प्रतिशत अर्थात् २२ हजार ८२६ वटा धेरै हो । सो आवमा ८१ हजार ६८० बीमा पोलिसी सरेन्डर गरेका थिए ।

रकमका आधारमा पनि गत वर्ष बीमालेख सरेन्डर बढेको छ । बीमितले गत वर्षमा १४ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बढीको पोलिसी सरेन्डर गरेको प्राधिकरणले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा दुई अर्ब रुपैयाँ बढीको पोलिसी सरेन्डर हो । अघिल्लो वर्ष १२ अर्ब १८ करोड रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको थियो ।

अर्थतन्त्रमा आएको मन्दीको असर बीमा कम्पनीको व्यवसायमा समेत परेको बीमा व्यवसायीहरू बताउँछन् । बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणका अधिकारीहरू अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा सरेन्डरको क्रम बढेको बताउँछन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल आर्थिक रूपमा समस्या हुँदा र अभिकर्ताको कारण पोलिसी सरेन्डर हुने गरेको बताउँछन् । ‘आय स्रोतको तुलनामा बीमा रकम बढाएपछि अफ्ठेरो परेको देखिन्छ । त्यसले सरेन्डर पनि बढाएको छ । पैसा आवश्यक परेको बेलामा पोलिसी सरेन्डर गरेर निकालने गरेको पाइन्छ,’ उनले भने ।

कतिपय अवस्थामा अभिकर्ताले नै पोलिसी सरेन्डर गराइदिने गरेको उनले बताए । ‘एउटा अभिकर्ता एउटामा काम गरिरहेको हुन्छ । अर्कोमा जानेबित्तिकै आफ्नो मार्केटिङ बढाउन पोलिसी नै त्याग गरिदिन्छ,’ उनले भने ।

प्राधिकरणले गत भदौमा बीमा अधिकर्ता, सर्भेयर र दलाल सम्बन्धि व्यवस्था गरेको थियो । उक्त व्यवस्थामा अभिकर्ताले लाइसेन्स लिन अनलाइन परीक्षा दिनुपर्ने प्रावधान समेत राखिएको छ । त्यसैगरी, एउटा अभिकर्ता धेरै बीमकको अभिकर्ता बन्न नपाउने व्यवस्था गरिएको छ ।

घटेन पोलिसी सरेन्डरको दर

केही बीमा कम्पनीहरूले पोलिसी सरेन्डर दर घटाए पनि अधिकांशको बढेको छ । राष्ट्रिय बीमा संस्थानको अघिललो वर्ष १६ हजार ९१७ बीमालेख सरेन्डर भएकोमा गत वर्ष बढेर केही घटेको छ । तर, बीमा शुल्क भने वृद्धि भएको देखिन्छ ।

अघिल्लो वर्ष संस्थानको सरेन्डर बीमालेख संख्या १६ हजार ९१७ वटा रहेकोमा १४.८१ प्रतिशतले घटेको हो । तर, बीमा शुल्क भने ३७ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, एशियन लाइफ र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बीमा पोलिसी सरेन्डर घटाएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै बीमा सरेन्डर दर बढेको छ । यस कम्पनीको अघिल्लो वर्ष ३३७ पोलिसी सरेन्डर भएकोमा गत वर्ष २८४.२७ प्रतिशतले वृद्धि भएर यो संख्या १२९५ पुगेको छ ।

गत एक वर्षमा आइएमई लाइफको २३०, प्रभु लाइफ १३० र रिलायवल नेपाल लाइफको १११ प्रतिशतले पोलिसी सरेन्डर बढेको छ ।

कुन कम्पनीको कति पोलिसी सरेन्डर ?

गत वर्ष सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थानको १ अर्ब १७ करोड रुपैयाँ बराबरको १४ हजार पोलिसी सरेन्डर गरिएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ४४ करोड रुपैयाँ बराबरको ९ हजार पोलिसी सरेन्डर गरिएको छ । योअघिल्लो वर्षको तुलनामा १९.०७ प्रतिशतले बढी हो । नेपाल लाइफको ४ अर्ब ७८ अरोड रुपैयाँ बराबरको ३२ हजार पोलिसी सरेन्डर भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब रुपैयाँ बराबरको २६ हजार पोलिसी सरेन्डर गरिएको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको २० हजार पोलिसी त्याग भएको छ । मेट लाइफको ४२ करोड रुपैयाँको ४ हजार पोलिसी त्यागिएका छन् ।

एशियन लाइफको ४९ करोड रुपैयाँको ६ हजार ५७९, सन नेपाल ४ करोडको ४४२, सूर्यज्योतिको ७७ करोडको ३ हजार ६६६, सानिमा रिलायन्स १८ करोड बराबरको १२२४ र हिमालयन लाइफ ९३ करोड रुपैयाँ बराबरको ७ हजार ५६८ बीमा पोलिसी गत वर्ष सरेन्डर भएका छन् ।

सरेन्डर रोक्न प्राधिकरण असफल

बढ्दो बीमा प्रतिको अविश्वास र पोलिसी सरेन्डर रोक्न नियामक निकाय असफल देखिएको छ । कम्पनी र अभिकर्तालाई मनलाग्दी छोड्दा उनीहरूले जथाभावी पोलिसी बाँड्ने र सरेन्डर गर्ने क्रम बढेको हो ।

कम्पनी आफैंले पनि बीमा शुल्क आर्जन गर्न मनलाग्दी पोलिसी वितरण गर्ने गरेका छन् । जसको प्राधिकरणले चुस्त नियमन गर्न नसक्दा बीमा विकृति झनै बढेको छ । अर्कोतिर सरकार आफैले पनि बीमा पोलिसी वितरण गर्न लगाएर त्यसको दाबी भुक्तानी दिएको छैन ।

त्यसले बीमा प्रतिको अविश्वास झनै बढाएको प्राधिकरणकै अधिकरीहरू बताउँछन् । ‘प्राधिकरणले पोलिसी वितरणदेखि त्यागको प्रक्रियासम्म कडाइ गर्दै आएको छ । तर, यो क्रम निरन्तर बढ्दो छ,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘यो हाम्रो पनि असफलता हो । नियमन राम्रोसँग गर्न सकिएको छैन । बेलगाम छोड्दा विकृति बढ्यो ।’

 

सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

म्याग्दीमा १३ जलविद्युत् आयोजना निर्माणाधीन, धमाधम प्रसारण लाइन बन्दै Read Next

म्याग्दीमा १३ जलविद्युत् आयोजना निर्माणाधीन, धमाधम प्रसारण लाइन बन्दै