काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाबाटै आन्तरिक ऋण उठाउन थालेको छ । चालु आर्थिक वर्षमा २ खर्ब २४ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको सरकारले यही साउन १८ गते १० अर्ब रुपैयाँ ऋण उठाउन लागेको हो ।
विगतका वर्षहरूमा प्रायःजसो दोस्रो त्रैमासबाट आन्तरिक ऋण उठाउने सरकारले चालु वर्षमा पहिलो महिनाबाटै उठाउन थालेका हो । अहिले वित्तीय प्रणालीमा अधिक तरलता रहेको र ब्याजदर पनि केही कम रहेकाले वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन लागेको हो ।
नेपाल राष्ट्र बैंकले भोलि (साउन १८) गतेदेखि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले ६ वर्ष अवधिको ‘विकास ऋणपत्र ०८६ ‘छ’ बिक्रीमा ल्याउन लागेको हो ।
ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ ।
ऋणपत्रमा कम्तीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
सरकारको लक्ष्य अनुसार राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउदै आएको छ ।
सरकारले चालु आवमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमा ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्ब विकास ऋणपत्र, ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।