नेपालका चर्चित ३ बन्जी जम्प, कहाँ जाँदा कति लाग्छ खर्च ?

काठमाडौं । पछिल्लो समय साहसिक पर्यटनको लोकप्रियता बढ्दै गएको छ । सामान्य घुमफिरमा मात्र सीमित हुने पर्यटन अहिले साहसिक खेलको रूपमा समेत विकसित हुँदै गएको छ ।

विश्वभर प्रसिद्ध हुँदै आएको साहसिक खेल नेपालमा पनि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै नेपालमा बन्जी जम्प, जिपलाइन, क्यानोनिङ, स्वीङ, रक क्लाइम्बिङ, स्काइ साइक्लिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट लगायतका साहसिक खेलहरू व्यवसायिक रूपमा संञ्चालन हुँदै आएको छ ।

तिनै साहसिक खेलमध्ये एक हो बन्जी जम्प । बन्जी जम्प पुलबाट डोरीको सहायताले हाम फालेर जमिनभन्दा माथि र आकाशबाट तल आनन्द लिने साहासिक खेल हो । बन्जी जम्प गर्नका लागि शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्छ ।

नेपालमा बन्जी जम्प दुईदशक अघि नै सुरू भएको थियो । भोटेकोशी नदीमा वि.सं. २०५८ सालदेखि बन्जी सुरू गरिएको थियो । अहिले भोटेकोशीसँगै, कास्कीको पोखरा र पर्वतको कुश्मामा समेत बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

धेरैको रोजाइमा पर्ने यो बन्जी जम्प गर्न कति खर्च लाग्छ त ? हामीले नेपालमा चर्चित यी तीन स्थानमा बन्जी जम्प गर्न लाग्ने खर्चको बारेमा जानकारी तयार पारेका छौं ।

भोटेकाशी बन्जीजम्प : नेपालकै पहिलो यो बन्जी जम्प गर्नका लागि न्यूनतम १० देखि १५ हजार रुपैयाँ खर्च लाग्छ । काठमाडौंबाट १०० किलोमिटरको दूरीमा रहेको यो बन्जी जम्पमा सडकमार्ग हुँदै पुग्न सकिन्छ ।

सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिमा रहेको यो बन्जी जम्प पुग्न काठमाडौँबाट सडकमार्ग हुँदै ३ देखि ४ घण्टामा पुग्न सकिन्छ । सार्वजनिक यातायात बसमा गए प्रतिव्यक्ति ३८० रुपैयाँ, माइक्रोबसमा जाँदा ४५० रुपैयाँ भाडा लाग्छ ।

त्यस्तै, बन्जी जम्प गर्न टिकटको मूल्य प्रतिव्यक्ति ७ हजार ५०० रुपैयाँ रहेको छ । त्यस्तै, खानाबस्न साधरण होटलमा करिब ३ हजार रुपैयाँ लाग्छ । दुई दिनमा भोटेकोशी पुगेर बन्जीजम्प गरे फर्किन सकिन्छ ।

भारत, चीन र सार्क मुलुकका नागरिकहरूले ९ हजार रुपैयाँ प्रतिव्यक्ती तिनुपर्छ । तेस्रो मुलुकबाट आउने पर्यटकले बन्जी जम्पका लागि ११ हजार रुपैयाँँ तिर्नुपर्छ ।

भोटेकोशीमा गएर ब्रेकफाष्ट, लन्च र बन्जी जम्प सहित प्रतिव्यक्ती लागत ९ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मको प्याकेज रहेको छ ।

द लास्ट रिसोर्टले २०५८ देखि भोटेकोशीमा बन्जीजम्प सञ्चालन गर्दै आइरहेको छ । भोटेकोशीमाथि हालिएको झोलुङे पुलबाट करिब १६० मिटर तलको खोँचमा छलाङ मार्न सकिन्छ ।

कुश्मा बन्जी जम्प : विश्वकै दोस्रो अग्लो उचाइ भएको कुश्माको बन्जी जम्प गर्न न्यूनतम २० देखि ३० हजार रुपैयाँसम्म खर्च हुन्छ । निजी क्षेत्र इन्टु द वाइल्ड मल्टी प्रपोज प्रालिको लगानीमा निमार्ण गरिएको यो नेपालकै नमूना बन्जीजम्प हो । ५२० मिटर लम्बाइको पुलमा कुश्मा बन्जीङ जम्पको उचाइ २२८ मिटर उचाइ रहेको छ ।

कम्पनीका अनुसार बन्जी फ्रीफलको समय ४.५ सेकेन्ड र स्विङ फ्रीफलका लागि ८.५ सेकेन्ड समय लाग्छ । बन्जीङ वेट ४० देखि १२० किलोग्राम सम्म हुनुपर्ने छ ।

पर्वतको कुश्मा पुग्न सडकमार्ग र पोखरासम्म हवाईमार्गबाट जान सकिन्छ । काठमाडौंबाट २७४ किलोमिटरको दूरीमा रहेको कुश्मा जान सार्वजनिक गाडीमा करिब ८ घण्टा लाग्छ भने भाडा गाडी आनुसार १२०० देखि २ हजार रुपैयाँसम्म लाग्छ । त्यस्तै, पोखरासम्म जहाजबाट र त्यसपछि बस, जीप लगायत साधनमा जान सकिन्छ ।

कुश्मामा बन्जी गर्न प्रतिव्यक्ति टिकट मूल्य ७ हजार ५०० रहेको छ । फोटो र भिडियोसहित बन्जी जम्प गर्नका लागि प्रतिव्यक्ति ९ हजार रुपैयाँ टिकट मूल्य रहेको छ ।

कुश्मा पुगेर काठमाडौं फर्किन ३ दिन लाग्छ भने २ रात बास बस्नुपर्ने हुन्छ । दुई रात बासबस्न र खानका लागि साधरण होटलमा करिब ६÷७ हजार रुपैयाँ खर्च हुन्छ ।

यस्तै, कुश्मा बन्जीलाई लक्ष्ति गर्दै विभिन्न ट्राभल एजेन्सीहरूले १५ हजारदेखि १७ हजार रुपैयाँका प्याकेज समेत ल्याएका छन् ।

पोखरा बन्जी जम्प : पर्यटकीय सहर पोखराको सेतीखोँचमा अवस्थित बन्जी जम्प गर्न न्यूनतम १५ देखि २५ हजार रुपैयाँसम्म खर्च हुन्छ । हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले संचालन गरेको यो बन्जी जम्प १०५ मिटर अग्लो छ । बन्जी जम्प गर्न नेपाली नागरिकका लागि टिकटको मूल्य प्रतिव्यक्ति ६ हजार रुपैयाँ रहेको कम्पनीका अध्यक्ष सन्तोष भट्टले बताए । यस्तौ जोडी बन्जीका लागि प्रतिजोडी बन्जीको टिकट १० हजार रुपैयाँ रहेको छ ।

काठमाडौँबाट पोखरा हवाईमार्ग र सडकमार्गबाट पुग्न सकिन्छ । हवाईजहाजमा जाँदा करिब ३० मिनेटमा पुग्न सकिन्छ भने हवाई भाडा एकतर्फी ४ हजार ५०० देखि ६ हजारसम्म लाग्छ । यस्तै, सडकमार्ग हुँदै जाँदा साधरण बस, माइक्रोबसमा एकतर्फी भाडा १ हजार रुपैयाँ र सुविधासम्पन्न डिलक्स बसमा जाँदा १८०० रुपैयाँसम्म भाडा लाग्छ । जहाजमा आवतजावत गरे १० देखि १२ हजार र बसमा आवत जावत गर्दा २ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म खर्च हुन्छ ।

यस्तै, काठमाडौंबाट पोखरा बन्जी गर्न जाँदा दुई रात पोखरामा बास बस्नुपर्ने हुन्छ । साधरण होटलमा बसे दुई दिनमा खानबस्न ६÷७ हजार रुपैयाँ खर्च हुन्छ ।

 

हिमालयन लघुवित्तको नाफामा भारी गिरावट, वितरणयोग्य नाफा जम्मा ६० लाख Read Previous

हिमालयन लघुवित्तको नाफामा भारी गिरावट, वितरणयोग्य नाफा जम्मा ६० लाख

पुल निर्माणका क्रममा मेसिन खस्दा १६ मजदुरको मृत्यु Read Next

पुल निर्माणका क्रममा मेसिन खस्दा १६ मजदुरको मृत्यु