घट्दै ऋणको ब्याजदर, कर्जाको माग बढ्ने छाँटकाट छैन

काठमाडौं । डेढ वर्ष यता लगातार उकालो लागेको ब्याजदर पछिल्ला केही महिना यता घट्न थालेको छ । बैंकिङ प्रणालीमा जम्मा भएको अधिक तरलता, अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग नहुनु, राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले ब्याजदर घट्न थालेको हो ।

आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासदेखि उकालो लागेको निक्षेप र कर्जाको ब्याजदर अहिले घट्न थालेको हो । निक्षेपको ब्याजदर चैतदेखि नै घट्न थालेको थियो भने कर्जाको पनि जेठदेखि घट्दो क्रममा छ । कर्जाको माग आएको गिरावटले वित्तीय प्रणलीमा लगानीयोग्य रकम थुप्रिँदा ब्याजदर घट्दै गएको हो ।

चैत यता बैंकहरूले निक्षेपको ब्याजदर २ प्रतिशत घटाइसकेका छन् । १२ प्रतिशत पुगेको निक्षेपको ब्याजदर अहिले घटेर औसतमा १० प्रतिशतमा आएको छ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत घट्दा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो । गत वर्षको सुरुमा स्रोत अभावका कारण कर्जाको ब्याजदर एकदशक यताकै उच्च अंकमा पुगेको थियो । यसअवधिमा बैंकहरूले निक्षेपकै ब्याज १५ प्रतिशतसम्म दिएका थिए भने कर्जाको १८ प्रतिशतसम्म पुर्याएका थिए । १२ प्रतिशतसम्म पुगेको बैंकको आधारदर अहिले एकल अंकमा आएको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाका कारण पनि कर्जाको ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरूले पनि घटाउन थालेको छन् । यसअघि ३/३ महिनामा आधारदर हेरफेर हुँदा सोही अनुसार कर्जाको ब्याजदरमा फेरबद्ल आउँथ्यो । जसले गर्दा जेठको तुलनामा असारमा, असारको तुलनामा साउनमा कर्जाको ब्याजदर सस्तो भएको छ ।

यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्इाजदर करिडोर ०.५ विन्द्युले घटाएको छ । यसअघि ७ प्रतिशत रहेको रिपोदर ६.५ प्रतिशतमा झारेको छ भने तल्लो सीमा निक्षेप संकलन दर ४.५ प्रतिशतमा झारेको छ । यसले पनि आगामी महिना झनै ब्याजदर घट्ने देखिन्छ ।

बैंकहरूको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि चलायमान बनाउने नेपाल राष्ट्र बैंकदेखि निजी क्षेत्रका उद्योग व्यवसायीको अपेक्षा छ । चालु वर्षको मौद्रिक नीतिमै राष्ट्र बैंकले ब्याजदर घट्दोक्रममा रहेकाले आर्थिक गतिविधि र बजारमा माग बढाउन टेवा पुग्ने उल्लेख गरेको छ ।

पूर्व बैंकर तथा वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराई ब्याजदर घटे पनि कर्जाको मागे तत्काल बढ्ने नदेखिएको बताउँछन् । ‘पछिल्लो तीन/चार महिना कर्जाको स्थिति हेर्दा एउटै तहको देखिन्छ । बढ्ने र घट्ने क्रम छ । यसहिसाबले हेर्दा वृद्धि हुन सकेको छै,’ उनले भने, ‘कारोबार नबढी कर्जाको माग बढ्ने देखिदैन । ब्याजदर घटे पनि क्षमता बढेको छैन । अहिले करेक्सन फेजमा आएको छ ।’

कोभिड अवधिमा कर्जा विस्तारको तुलनामा उद्योग व्यवसाय वृद्धि हुन नसकेको र अहिले करेक्सन भइरहेको उनले बताए । ‘त्यो बेलामा राष्ट्र बैंकले रिफाइनान्सिङ र विभिन्न सहुलियत दियो भने कर्जा लगानीमा धेरै लचक भयो । त्यसलाई दिगो गर्न त्यसै अनुसारको पूँजी सिर्जना हुनुपर्छ । तर, जग्गा, शेयर र सबैको मूल्य मात्र बढ्यो,’ उनले भने ।

यी कारणले ग्रहाकको कर्जा लिने क्षमता घटेको छ । अर्कोतिर कर्जा दिने क्षमता पनि बैंकको घटेको उनले बताए । राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाएर माग बढाउन विभिन्न नीतिगत उपायहरूको खोजि भने यसअघि नै गरेको देखिन्छ । गत वैशाखमा प्रत्येक महिना बैंक तथा वित्तीय संस्थाले आधारदर हेरफेर गर्नु पर्ने व्यवस्था गरेको थियो । जसको असर तत्कालै कर्जाको ब्याजदरमा पर्ने भएकाले तत्काललाई कर्जाको माग बढ्ने अपेक्षा गरियो । बैंकहरूले कर्जाको ब्याजदरलाई आधारदरको आधारमा तय गर्ने गरेका छन् ।

बढ्ला ऋणको माग ?

यस वर्ष पनि कर्जाको माग भने नबढ्ने देखिएको बैंकरहरू बताउँछन् । प्रणालीमा स्रोत भए पनि बैंकहरू नै लगानीको दबाबमा हुँदा कर्जा विस्तारको लक्ष्य भेट्न नसकिने उनीहरूको भनाइ छ ।

अहिले प्रणालीमा कर्जा प्रवाहको लक्ष्य पुग्ने तरलता भएका कारण माग बढे स्रोतको चाप पर्ने देखिदैन । तर, पूँजीकोको दबाब, राष्ट्र बैंकले लागू गरेको अतिरिक्त पूँजीकोष लगायतका कारण कर्जा बढ्न मुस्कील रहेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ११.५ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

जसको लागि ५ खर्ब ६० अर्ब रुपैयाँको हाराहारीमा तरलता आवश्यक पर्छ । आर्थिक गतिविधि चलायमान हुँदा सो रकम बराबरको ऋणको माग हुने धेरैको आकलन छ ।

अहिले बैंकहरूको औषतमा सीडी रेसीयो ८३ प्रतिशत छ भने प्रणालीमा ४ खर्ब रुपैयाँ बढी स्रोत छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले आवासीय तथा रियलस्टेट कर्जा, सवारी कर्जा र शेयर धितो कर्जाको जोखिमभारमा केही हेरफेर गरेको छ ।

जसको कारण पनि यी क्षेत्रमा केही कर्जाको माग बढ्ने अपेक्षा गरिएको छ । गतवर्ष ऋणको माग नहुँदा बैंकहरूले लक्ष्यको साढे तीन प्रतिशत मात्रै कर्जा विस्तार गरेका थिए । राष्ट्र बैंकले १२.६ प्रतिशत विस्तारको लक्ष्य राखे पनि एकतिहाई पनि लगानी नभएको तथ्यांकले देखाउँछ ।

भट्टराई बैंकको प्रोभिजनिङमा भएको वृद्धि, पर्चेज क्षमतामा आएको ह्रास, बैंकहरूको पूँजीकोषको दबाब लगायतका कारणले कर्जा विस्तारको लक्ष्य नभेटिने बताउँछन् ।

‘अहिले पनि माग छैन । व्यापारमा आएको सुस्तताले चालू पूँजी कर्जा पनि बढेको देखिदैन । बैंकहरू पनि विभिन्न कारणले कर्जा दिन सक्ने अवस्थामा छैनन्,’ उनले भने, ‘पहिले कर्जाको अवस्था राम्रो हुँदा प्रोभिजनिङ पनि बढेको थिएन् । अर्कोतिर अहिले पूँजीको हिसाबले पनि बैंकहरू दबाबमा छन् ।’

देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै Read Previous

देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ : उपाध्यक्ष श्रेष्ठ Read Next

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ : उपाध्यक्ष श्रेष्ठ