काठमाडौं । डेढ वर्ष यता लगातार उकालो लागेको ब्याजदर पछिल्ला केही महिना यता घट्न थालेको छ । बैंकिङ प्रणालीमा जम्मा भएको अधिक तरलता, अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग नहुनु, राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले ब्याजदर घट्न थालेको हो ।
आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासदेखि उकालो लागेको निक्षेप र कर्जाको ब्याजदर अहिले घट्न थालेको हो । निक्षेपको ब्याजदर चैतदेखि नै घट्न थालेको थियो भने कर्जाको पनि जेठदेखि घट्दो क्रममा छ । कर्जाको माग आएको गिरावटले वित्तीय प्रणलीमा लगानीयोग्य रकम थुप्रिँदा ब्याजदर घट्दै गएको हो ।
चैत यता बैंकहरूले निक्षेपको ब्याजदर २ प्रतिशत घटाइसकेका छन् । १२ प्रतिशत पुगेको निक्षेपको ब्याजदर अहिले घटेर औसतमा १० प्रतिशतमा आएको छ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत घट्दा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो । गत वर्षको सुरुमा स्रोत अभावका कारण कर्जाको ब्याजदर एकदशक यताकै उच्च अंकमा पुगेको थियो । यसअवधिमा बैंकहरूले निक्षेपकै ब्याज १५ प्रतिशतसम्म दिएका थिए भने कर्जाको १८ प्रतिशतसम्म पुर्याएका थिए । १२ प्रतिशतसम्म पुगेको बैंकको आधारदर अहिले एकल अंकमा आएको छ ।
यसैगरी, नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाका कारण पनि कर्जाको ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरूले पनि घटाउन थालेको छन् । यसअघि ३/३ महिनामा आधारदर हेरफेर हुँदा सोही अनुसार कर्जाको ब्याजदरमा फेरबद्ल आउँथ्यो । जसले गर्दा जेठको तुलनामा असारमा, असारको तुलनामा साउनमा कर्जाको ब्याजदर सस्तो भएको छ ।
यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्इाजदर करिडोर ०.५ विन्द्युले घटाएको छ । यसअघि ७ प्रतिशत रहेको रिपोदर ६.५ प्रतिशतमा झारेको छ भने तल्लो सीमा निक्षेप संकलन दर ४.५ प्रतिशतमा झारेको छ । यसले पनि आगामी महिना झनै ब्याजदर घट्ने देखिन्छ ।
बैंकहरूको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि चलायमान बनाउने नेपाल राष्ट्र बैंकदेखि निजी क्षेत्रका उद्योग व्यवसायीको अपेक्षा छ । चालु वर्षको मौद्रिक नीतिमै राष्ट्र बैंकले ब्याजदर घट्दोक्रममा रहेकाले आर्थिक गतिविधि र बजारमा माग बढाउन टेवा पुग्ने उल्लेख गरेको छ ।
पूर्व बैंकर तथा वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराई ब्याजदर घटे पनि कर्जाको मागे तत्काल बढ्ने नदेखिएको बताउँछन् । ‘पछिल्लो तीन/चार महिना कर्जाको स्थिति हेर्दा एउटै तहको देखिन्छ । बढ्ने र घट्ने क्रम छ । यसहिसाबले हेर्दा वृद्धि हुन सकेको छै,’ उनले भने, ‘कारोबार नबढी कर्जाको माग बढ्ने देखिदैन । ब्याजदर घटे पनि क्षमता बढेको छैन । अहिले करेक्सन फेजमा आएको छ ।’
कोभिड अवधिमा कर्जा विस्तारको तुलनामा उद्योग व्यवसाय वृद्धि हुन नसकेको र अहिले करेक्सन भइरहेको उनले बताए । ‘त्यो बेलामा राष्ट्र बैंकले रिफाइनान्सिङ र विभिन्न सहुलियत दियो भने कर्जा लगानीमा धेरै लचक भयो । त्यसलाई दिगो गर्न त्यसै अनुसारको पूँजी सिर्जना हुनुपर्छ । तर, जग्गा, शेयर र सबैको मूल्य मात्र बढ्यो,’ उनले भने ।
यी कारणले ग्रहाकको कर्जा लिने क्षमता घटेको छ । अर्कोतिर कर्जा दिने क्षमता पनि बैंकको घटेको उनले बताए । राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाएर माग बढाउन विभिन्न नीतिगत उपायहरूको खोजि भने यसअघि नै गरेको देखिन्छ । गत वैशाखमा प्रत्येक महिना बैंक तथा वित्तीय संस्थाले आधारदर हेरफेर गर्नु पर्ने व्यवस्था गरेको थियो । जसको असर तत्कालै कर्जाको ब्याजदरमा पर्ने भएकाले तत्काललाई कर्जाको माग बढ्ने अपेक्षा गरियो । बैंकहरूले कर्जाको ब्याजदरलाई आधारदरको आधारमा तय गर्ने गरेका छन् ।
बढ्ला ऋणको माग ?
यस वर्ष पनि कर्जाको माग भने नबढ्ने देखिएको बैंकरहरू बताउँछन् । प्रणालीमा स्रोत भए पनि बैंकहरू नै लगानीको दबाबमा हुँदा कर्जा विस्तारको लक्ष्य भेट्न नसकिने उनीहरूको भनाइ छ ।
अहिले प्रणालीमा कर्जा प्रवाहको लक्ष्य पुग्ने तरलता भएका कारण माग बढे स्रोतको चाप पर्ने देखिदैन । तर, पूँजीकोको दबाब, राष्ट्र बैंकले लागू गरेको अतिरिक्त पूँजीकोष लगायतका कारण कर्जा बढ्न मुस्कील रहेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ११.५ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।
जसको लागि ५ खर्ब ६० अर्ब रुपैयाँको हाराहारीमा तरलता आवश्यक पर्छ । आर्थिक गतिविधि चलायमान हुँदा सो रकम बराबरको ऋणको माग हुने धेरैको आकलन छ ।
अहिले बैंकहरूको औषतमा सीडी रेसीयो ८३ प्रतिशत छ भने प्रणालीमा ४ खर्ब रुपैयाँ बढी स्रोत छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले आवासीय तथा रियलस्टेट कर्जा, सवारी कर्जा र शेयर धितो कर्जाको जोखिमभारमा केही हेरफेर गरेको छ ।
जसको कारण पनि यी क्षेत्रमा केही कर्जाको माग बढ्ने अपेक्षा गरिएको छ । गतवर्ष ऋणको माग नहुँदा बैंकहरूले लक्ष्यको साढे तीन प्रतिशत मात्रै कर्जा विस्तार गरेका थिए । राष्ट्र बैंकले १२.६ प्रतिशत विस्तारको लक्ष्य राखे पनि एकतिहाई पनि लगानी नभएको तथ्यांकले देखाउँछ ।
भट्टराई बैंकको प्रोभिजनिङमा भएको वृद्धि, पर्चेज क्षमतामा आएको ह्रास, बैंकहरूको पूँजीकोषको दबाब लगायतका कारणले कर्जा विस्तारको लक्ष्य नभेटिने बताउँछन् ।
‘अहिले पनि माग छैन । व्यापारमा आएको सुस्तताले चालू पूँजी कर्जा पनि बढेको देखिदैन । बैंकहरू पनि विभिन्न कारणले कर्जा दिन सक्ने अवस्थामा छैनन्,’ उनले भने, ‘पहिले कर्जाको अवस्था राम्रो हुँदा प्रोभिजनिङ पनि बढेको थिएन् । अर्कोतिर अहिले पूँजीको हिसाबले पनि बैंकहरू दबाबमा छन् ।’