४५ वर्षपछि बाह्यभन्दा आन्तरिक ऋण धेरै, अर्थतन्त्रलाई खतरा

काठमाडौं । नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ । घाटा बजेट कार्यान्वयनका लागि स्रोत सुनिश्चित गर्न ऋण लिँदा आन्तरिक–बाह्य ऋणको दायित्व थपिँदै गएको हो ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तसम्म २० खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा गत एक वर्षमा २ खर्ब ४ अर्ब रुपैयाँ ऋण थपिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्षमा आन्तरिक ऋण १ खर्ब ४१ अर्ब ४२ करोड र बाह्य ६३ अर्ब २३ करोड रुपैयाँ थपिएको छ । यस अवधिसम्म कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपातमा ४१.२८ प्रतिशत हो ।

सरकारले बजेट कार्यान्वयन गर्न उठाउने ऋणको दायित्व एकातिर बढ्दै गएको छ भने अर्कोतिर आयोजना बनिरहेका छैनन् । जसको कारण ऋण तिर्नकै लागि ऋण लिनु पर्ने अवस्था आएको छ ।

न्यून पूँजीगत खर्च, बढ्दो विकासका संरचनाको लागत र वित्तीय व्यवस्थापन खर्चले नै यो पुष्टि गर्छ । गत वर्ष सरकारको वित्तीय व्यवस्थापन खर्च १ खर्ब ९० अर्ब रुपैयाँ भएको छ ।

अर्थशास्त्री डा. गोविन्द नेपाल पूँजीगत खर्चभन्दा साँवाब्याज तिर्नुपर्ने रकम ठूलो हुँदै जानु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताउँछन् । ‘पूँजीगत खर्चभन्दा साँवाब्याज तिर्नुपर्ने रकम ठूलो हुँदै जानु राम्रो संकेत होइन । त्यो दायित्व सरकारले निवार्ह गर्न सकेन भने देश टाँट पल्टिने अवस्थामा पुग्छ । २०८४ सम्म सरकारको वार्षिक ऋण भुक्तानी दायित्व ६ खर्ब रुपैयाँ भन्दा बढी हुने देखिन्छ,’ उनले भने, ‘ऋणमा आधारित भएर जाँदा यस्तो अवस्था आएको हो । ऋण लिने र त्यसको तिर्नुपर्ने समय आएपछि सँवा ब्याजको दायित्व बढ्दै जाने र त्यसलाई नेपालले तिर्न सक्दैन कि भन्ने डर छ ।’

आन्त्रिक आम्दानी खुम्चिने र ऋण लिएको रकमले उत्पादन बढाउन नसक्दा ऋण तिर्नकै लागि समेत सरकारलाई समस्या पर्ने उनले बताए । ‘यता आर्थिक क्रियाकलापहरू नबढ्ने । करबाट राम्रो आम्दानी नहुने र भएका उद्योगधन्दा पनि बन्द हुने भएपछि राजस्व सीमित हुने भयो । त्यसपछि ऋण कसरी तिर्नेभन्ने समस्या हुन्छ,’ नेपाल भन्छन् ।

ऋण लिएपछि जुन प्रयोजको लागि लिएको हो त्यसैबाट कमाएर तिर्न सक्नुपर्छ । नेपालको ऋण लिएर खर्च गरेको ठाउँबाट आम्दानी नहुन,े आयोजना दशौं वर्षमा समेत पूरा नहुने समस्या रहेको उनले बताए ।

४५ वर्षपछि बाह्यभन्दा आन्तरिक ऋण बढी

चार दशकपछि नेपालको बाह्य ह्यालाई आन्तरिक ऋणले उछिनेको छ । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०३१/३२ मा आन्तरिक ऋण ४८ करोड र बाह्य ऋण ३५ करोड रुपैयाँ थियो ।

त्यसैगरी, २०३४/३५ सम्म आन्त्रिक ऋण नै बाह्यभन्दा बढी थियो । २०३५/३६ मा आन्तरिक १ अर्ब २२ करोड हुँदा बाह्य १ अर्ब ३२ करोड रुपैयाँ थियो । त्यसयता लगातार आन्तरिकभन्दा बाह्य ऋणको ग्राफ उकालो लाग्दै आएको थियो । तर, २०७९/८० मा भने बाह्य १० खर्ब ९३ अर्ब हुँदा आन्तरिक ऋण ३४ अर्ब ९८ करोडले बढेर ११ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।

अर्थशास्त्री नेपाल आन्तरिक ऋण वृद्धिले सरकारको दायित्वमाथि थप भार पर्ने र बजारमा पूँजी अभाव हुने भएकाले लगानीमा समेत असर पर्ने बताउँछन् ।

‘आन्तरिक ऋणको ब्याजदर धेरै हुन्छ । त्यसले गर्दा आन्तरिक ऋण बढी हुनु भनेको हानी हो । यसको ऋण बढी हुने भएकाले सरकारले तिर्नुपर्ने दायित्व पनि बढ्छ,’ उनले भने, ‘आन्तरिक ऋण लिएपछि बजारमा तरलता अभाव हुन्छ । त्यसपछि निजी क्षेत्रबाट हुने लगानीलाई प्रतिकूल प्रभाव पार्छ ।’

अन्तर्राष्ट्रिय ऋण एक/दुई प्रतिशतको हुने आन्तरिकको दशएघार प्रतिशत ब्याज तिर्नुपर्ने भएपछि दायित्व बढ्ने भएकाले अर्थतन्त्रका लागि राम्रो नभएको उनको भनाइ छ ।

पूँजीगत खर्चकै हाराहारी ऋण तिर्न खर्च

ऋणको दायित्व बढ्दै जाँदा विकास खर्चकै हाराहारीमा साँवा र ब्याज तिर्नु परेको छ । सरकारले गत वर्ष आन्तरिक तथा बाह्य ऋणको साँवाब्याज गरी कुल २ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी गरेको छ । जबकि यस वर्ष पूँजीगत खर्च २ अर्ब ३३ अर्ब रुपैयाँ भएको थियो ।

आन्तरिक ऋणको साँवा १ खर्ब १५ अर्ब, ब्याज ६४ अर्ब ४९ करोड र कमिसन ११ करोड गरी १ खर्ब ७९ करोड ७२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । बाह्य ऋणको ३४ अर्ब ६१ करोड साँवा र ८ अर्ब ३९ करोड ब्याज गरी कुल ४३ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।

ऋण प्राप्तिले समेत भेट्दैन लक्ष्य

सरकारले घाटा बजेट कार्यान्वयन गर्न आन्तरिक तथा बाह्य क्षेत्रबाट ठूलो ऋण ठाएर पूर्ति गर्ने लक्ष्य लिने गरेको छ । तर, ऋण प्राप्तिको सो लक्ष्य भेट्टाउन भने सक्दैन ।

गत वर्ष सरबारले बजेट मार्फत २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक गरी कुल ४ खर्ब ५८ अर्ब २६ करोड रुपैयाँ ऋण उठाएर स्रोत सुनिश्चित गरिने लक्ष्य लिएको थियो । तर, ३ खर्ब ५८ अर्ब रुपैयाँमात्रै ऋण प्राप्ति भएको छ । आन्तरिक ऋण २ खर्ब ५६ अर्बै नै उठाए पनि बाह्य भने १ खर्ब २ अर्ब रुपैयाँ मात्रै प्राप्ति भएको छ ।

विकास ऋण पत्र, नागरिक बचत पत्र, ट्रेजरी बिल लगायतका माध्यमबाट सरकारले वित्तीय प्रणालीबाट आन्त्रिक ऋण उठाए पनि बाह्य ऋण भने द्धिपक्षिय र बहुपक्षीय राष्ट्रसँग लिने गर्छ । सरकारले समयमै रकम खर्च गर्न नसक्नु र दातृ निकायमा शर्त पूरा गर्न नसक्दा बाह्य ऋण लक्ष्य अनुसार प्राप्त गर्न नसकिएको नेपाल बताउँछन् ।

‘बाह्य ऋणमा कतिपय शर्तहरू हुन्छन् । त्यसलाई सरकारले पूरा गर्न सकेको हुँदैन । खर्च गर्न सक्ने क्षमता र शर्त पूरा गर्ने विषयमा सरकारले सक्दैन्न । त्यसले गर्दा अनुमान गरेजत्ति प्राप्त हुँदैन्,’ उनले भने ।

 

किसानको बारीबाट तरकारी ल्याएर बेच्दै पोखरा महानगर, कृषि एम्बुलेन्स सञ्चालनमा Read Previous

किसानको बारीबाट तरकारी ल्याएर बेच्दै पोखरा महानगर, कृषि एम्बुलेन्स सञ्चालनमा

कोरियाको पानी जहाज कम्पनीले माग्यो नेपाली कामदार, आवेदन खुल्यो Read Next

कोरियाको पानी जहाज कम्पनीले माग्यो नेपाली कामदार, आवेदन खुल्यो