काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्न छुट्टै युनिट खडा गरेर काम गरिरहेको छ । राष्ट्र बैंकले सीडीबीसी युनिट बनाएर डिजिटल मुद्राको अध्ययन तथा विभिन्न संरचनागत कार्यहरू गरिरहेको हो ।
गत वर्ष सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीडीबीसी) का लागि राष्ट्र बैंकले अध्ययन गरेर अवधारणा रिपोर्ट सार्वजनिक परामर्शका लागि जारी गरेको थियो । डिजिटल करेन्सीको थप प्रक्रियालाई अघि बढाइने आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा समेत उल्लेख गरिएको छ ।
‘केन्द्रीय बैंक विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाइने छ,’ मौद्रिक नीतिमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाल डिजिटल करेन्सी अहिले अध्ययनकै चरणमा रहेको बताउँछन् ।
‘डिजिटल करेन्सीको विषयमा मौद्रिक नीतिले पनि थप निरन्तरता दिने बताएको छ । यो अहिले भुक्तानी प्रणाली विभागले हेरिरहेको छ । अध्ययनकै चरणमा रहेकाले थप प्रक्रियामा जाँदैछ । क्षेत्रहरू तोकेर विभाग खडा हुँदैछ,’ उनले भने ।
सूचना प्रविधिको तीव्र विकाससँगै धेरैजसो देशका केन्द्रीय बैंकहरूको ध्यान डिजिटल करेन्सीतिर गएको छ । अमेरिका, चीन लगायतका देशहरूले पनि अध्ययन गरिहरेका छन् भने भारतले डिजिटल करेन्सी परीक्षणमा समेत ल्याइसकेको छ ।
सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले डिजिटल करेन्सीका लागि सहजीकरण समेत गरिहरेको छ ।
कारोबार सहज, लागत घट्ने
राष्ट्र बैंकले तीन—तीन वर्षमा नयाँ नोट छापेर प्रत्येक वर्ष बजारमा पठाउँछ । र, बजारबाट झुत्रा नोटलाई संकलन गरेर नष्ट गर्छ । पछिल्लो समय भने यस्ता नोटलाई ब्रिकेट बनाएर बेच्ने गरेको छ ।
नयाँ नोट छाप्दा प्रतिनोट छपाई लागत ६ रुपैयाँसम्म खर्च हुने गरेको छ । डिजिटल करेन्सी जारी हुँदा यसरी नोट छपाईमा लाग्ने अर्बौं रुपैयाँ लागत घट्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
एकपटक डिजिटल करेन्सीको संरचना (सफ्टेवयर) बनाइसकेपछि दीर्घकालसम्म काम गर्न सक्ने भएकाले लागतको हिसाबले उपयोगी हुने उनीहरूको तर्क छ ।
यसका साथै बैंकको सिष्टम सफट्वेयरसँग जोडिने भएकाले दुरुपयोग र सुरक्षाका हिसाबले पनि नियमन गर्न सहज हुने उनीहरूको भनाइ छ । फन्ड ट्रान्सफर छिटो र लागत सहज हुने जानकारहरू बताउँछन् । साइबर सुरक्षाविद्हरू डिजिटल करेन्सीमा सुरक्षा चुनौती न्यून भएको बताउँछन् ।
के हो डिजिटल मुद्रा ?
डिजिटल करेन्सी एक भर्चुअल मुद्रा हो । जसको अस्तित्व भौतिक रूपमा नभएर डिजिटल रूपमा मात्रै हुन्छ । अहिले नेपाल राष्ट्र बैंकले नोट छापेर बैंकिङ प्रणाली मार्फत बजारमा पठाउँछ र सर्वसाधारणले सोही मुद्रा अनुसार कारोबार गर्छन् ।
अहिले डिजिटल रूपमा कारोबार भए पनि डिजिटल करेन्सी नै जारी भइसकेको भने छैन । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतबाट भइरहेको कारोबार डिजिटल मुद्रा नभएर कारोबार मात्रै डिजिटल हो । जस्तो कि आफ्नो खातामा भएको रकम निकाल्न र बैंकमा जम्मा गर्न मिल्छ ।
अब राष्ट्र बैंकले जारी गर्न लागेको डिजिटल करेन्सी, वालेट वा डिजिटल माध्यममा मात्रै रहन्छ । त्यसलाई नोटजस्तै निकाल्न वा जम्मा गरेर कारोबार गर्न मिल्दैन ।
डिजिटल करेन्सी र क्रिप्टोकरेन्सीमा के फरक ?
डिजिटल करेन्सी केन्द्रीय बैंकको नियमनमा हुन्छ भने कुनै मूल्य बराबरको कारोबारमा भुक्तानी गर्न प्रयोग गरिन्छ । क्रिप्टोकरेन्सी व्यक्तिगत रूपमा बनाउन सकिने भएकाले कसैको नियमनमा हुँदैन ।
यो ब्ल्याकचेन प्रविधिमा आधारीत हुन्छ भने सोही अनुसार कारोबार भएर यसको मूल्य घटबढ हुनेगर्छ । यसरी किनबेच हुनेभएकाले यसमा जोखिम हुन्छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो ।