काठमाडौं । चाबहिल–साँखु सडक विस्तार सम्पन्न नहुँदै भत्किन थालेको छ । पटक-पटक म्याद थप्दा ८ वर्षामा पनि निर्माण सम्पन्न हुन नसकेको यो सडकको विभिन्न खण्डमा कालोपत्र उप्किन थालेको हो ।
यस सडकखण्डको थली, डाँछी, नलिङ होटल लगायत क्षेत्रमा कालोपत्र उप्किएको छ । साथै, सडकमा खाल्डाखुल्डी पर्दा आवतजावतमा समेत समस्या हुन थालेकेा छ । यी ठाउँमा गत वैशाख/जेठमा मात्रै कालोपत्र गरिएको थियो । गुणस्तरहीन निर्माण र ढल व्यवस्थापन गर्न नसक्दा सडकको कालोपत्र उप्किएको हो ।
हालै कालोपत्र भएको उक्त सडकमा मंगलको मेनहोलबाट पानी आएर सडक भत्किएको सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनले उक्त सडको खाल्डो पुर्न निर्माण व्यवसायीलाई मंगलबार मात्र चिठ्ठी पठाएको बताए । उनले ३ दिनभित्र सडकको खाल्डो पुर्न र सडकलाई मर्मत गर्न निर्देशन दिइएको बताए ।
उनका अनुसार बज्रगुरुविरुवा र च्याङमिला/खानी जेभी जेभीले ठेक्का लिएको उक्त सडक कालोपत्र भएको केही सममै भत्किएको हो । ‘उनीहरूले कालोपत्र गरेका हुन् तर, पानीका कारण मंगलभित्रको मेनहोलबाट पानी आएर भत्किएको हो,’ जोशीले चाणक्य पोष्टसँग भने ‘उनीहरूलाई हामीले हिजो मात्र मर्मत गर्न पत्र पठाएका छौँ, ३ दिनभित्र मर्मत गर्न निर्देशन दिएका छौँ, गरेन भने धरौटी रकम लिएर आफैं मर्मत गर्ने छौँ ।’

उनले मंगलको बिर्को नभएका कारण ढलको पानी सडकमा बगेर आएर सडकमा असर परेको बताए । चाबहिल–जोरपाटी–साँखु सडक खण्ड अन्तर्गत कुल ११.६ किलोमिटरमा काम भइरहेको छ ।
आयोजना मध्ये ९५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । ४ वटा ठेक्कामा काम भइरहेको सो खण्डमा यथावत स्थितिमा सम्पन्न गर्नेगरी काम भइरहेको सूचना अधिकारी जोशीले बताए ।
उक्त खण्डमा झण्डै ३०० मिटर सडक कालोपत्रे गर्न बाँकी छ । उक्त सडक कालोपत्रका लागि निर्माण व्यवसायीले म्याद थपको माग गरेको छ । उक्त निर्माण व्यवसायीले असोज महिनासम्मका लागि म्याद थपको माग गरेको हो ।
विगत ८ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको यो सडक खण्ड अझै पूरा हुन नसकेको हो । झण्डै अन्तिम चरणमा रहेको यो आयोजना निर्माण व्यवसायीको लापरवाहीकै कारण पूरा हुन नसकेको सूचना अधिकारी जोशी बताउँछन् । उनले निर्माण व्यवसायीलाई बारम्बार काम पूरा गर्नभन्दा समेत अटेरी गर्दै आएको बताए ।

आयोजना अन्तर्गत थली चोकमा कालोपत्र गर्न बाँकी रहेको हो । यो आयोजना अन्तर्गत सबै काम २०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो । सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडाईमा चार लेनको सडक बनाउने योजना सहित सुरू भएको यो आयोजना अझै पूरा हुन सकेको छैन ।
स्थानीयको अवरोध, मुआब्जा विवाद, ठेकेदारको लापरवाही, कोभिड महामारी लगायत कारणले यस सडक समयमै सम्पन्न हुन नसकेको हो ।