काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । सोमबार २६ अंकले घटेको नेप्से आज ३६ अंकले घटेको हो । आइतबार एकैदिन ६३ अंकले बढेको नेप्से पछिल्ला दुई दिनमै ६२ अंकले घटेको हो ।
आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो । तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारिएको बताएसँगै लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८२ करोडले घटेर २ अर्ब ९१ करोडमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा आइपुगेको छ । यसदिन २६७ कम्पनीको ७७ लाख १६ हजार २२७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल बाहेक अरु सबैको परिसूचक घटेको छ । बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै २.७६ प्रतिशतले घटेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १० करोड र ग्लोबल आइएमई बैंक पौने ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज नबिल डिबेन्चर २०८५ को सेयर मूल्य सबैभन्दा धेरै ६.८७ प्रतिशतले घटेको छ । त्यस्तै, बीपीडब्ल्यू लघुवित्त ५.२३, सिटिजन्स बैंक, माउन्टेन इनर्जी, कुमारी बैंकका सेयरधनीले साढे ४ प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा किसान लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।