उपत्यकाका १० फार्मेसी सिल, दुई दर्जनभन्दा बढीलाई सचेत पत्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ ।

मन्त्रालयले सोमबार काठमाडौँ उपत्यकाका १०१ वटा औषधि पसलको अनुगमन गरेको थियो । सोहीक्रममा  नियम विपरीत सञ्चालित १० वटा औषधि सिल गरेको हो ।

यस्तै, अनुगमन टोलीले दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर पत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो ।

फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिई औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।

मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीले आजै साँझ मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गरायो । अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या उल्लेख्य छ ।

अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिई ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए । अनुगमनमा संलग्न डा हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताए । ‘गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको छ,’ अर्का टोलीका संयोजक सागर दाहालले जानकारी दिए।

अण्डा उत्पादक किसानले पाउन थाले लागत मूल्य Read Previous

अण्डा उत्पादक किसानले पाउन थाले लागत मूल्य

गरिबी निवारणमा सफल चीनको ‘जीवन्त गाउँ’ परियोजना नेपालमा सुरू Read Next

गरिबी निवारणमा सफल चीनको ‘जीवन्त गाउँ’ परियोजना नेपालमा सुरू