बैंक तथा वित्तीय संस्थाले पुर्‍याए क्षेत्रगत कर्जाको लक्ष्य, कृषिमा मात्रै साढे ५ खर्ब लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले क्षेत्रगत कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा गरेका छन् ।

नेपाल राष्ट्र बैंकले समयावधि ताकेर उनीहरुलाई क्षेत्रगत कर्जा र विपन्न वर्ग लक्षित वर्ग कर्जाको लक्ष्य हासिल गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत असार समान्तसम्मा उनीहरुले गरेको कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, ६ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा प्रवाह गरिसक्न भनेको थियो ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएको विवरणअनुसार वाणिज्य बैंकहरुले उक्त लक्ष्य पूरा गरेको देखिएको छ ।

गत जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कूल कर्जामध्ये कृषि क्षेत्रमा १३.१ प्रतिशत अर्थात् रू ५ खर्ब ५२ अर्ब ९९ करोड कर्जा प्रवाह भएको छ ।

त्यस्तै, ऊर्जा क्षेत्रमा कूल कर्जाको ६.८ प्रतिशत अर्थात् रू २ खर्ब ८६ अर्ब ७७ करोड र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.९ प्रतिशत अर्थात् रू ४ खर्ब १८ अर्ब ३६ करोड कर्जा प्रवाह भएको छ ।

त्यसैगरी, विकास बैंकहरुलाई २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्न भनिएको थियो । गत जेठ मसान्तसम्ममा विकास बैंकबाट कृषि, लघु, घरेलु तथा साना उद्यम–व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कूल कर्जाको २४ दशमलव नौ प्रतिशत अर्थात् रू एक खर्ब १३ अर्ब १८ करोड कर्जा प्रबाह भएको छ ।

वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत जेठ मसान्तसम्ममा वित्त कम्पनीबाट यस्तो क्षेत्रमा २२ दशमलव तीन प्रतिशत अर्थात् रू १९ अर्ब ६५ करोड लगानीमा छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो कूल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुबाट प्रवाह भएको कूल कर्जा सापटमध्ये २०८० जेठ मसान्तमा औसत छ दशमलव एक प्रतिशत अर्थात् रू दुई खर्ब ६० अर्ब ८४ करोड कर्जा विपन्न वर्गमा गएको छ ।

त्यसैगरी, विकास बैंकहरुबाट यस क्षेत्रमा ९.१ प्रतिशत अर्थात् रू ४२ अर्ब ३२ करोड र वित्त कम्पनीहरुबाट ६.१ प्रतिशत अर्थात् रू पाँच अर्ब ६५ करोड कर्जा लगानी भएको छ ।

नेपाल सरकारबाट ब्याज अनुदान उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८० जेठ मसान्तमा एक लाख ४७ हजार पाँच सय १० ऋणीलाई रू दुई खर्ब तीन अर्ब १० करोड कर्जा लगानीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा गत जेठ मसान्तसम्ममा रू एक अर्ब ९६ करोड लगानीमा रहेको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणका आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने जनाएको छ ।

सहकारी संस्थाको नियमन गर्न विशिष्टिकृत निकाय स्थापना गरिने Read Previous

सहकारी संस्थाको नियमन गर्न विशिष्टिकृत निकाय स्थापना गरिने

बैंकिङ कसुर ऐन संशोधन गर्ने राष्ट्र बैंकको तयारी Read Next

बैंकिङ कसुर ऐन संशोधन गर्ने राष्ट्र बैंकको तयारी