काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय गौरव तथा महत्वका सडक आयोजनाहरूको बजेट खर्च निराशाजनक रहेको छ । लक्ष्य अनुसार काम हुन नसक्दा ती आयोजनाहरुको बजेट खर्च हुन नसकेको हो ।
गत वर्षमा राष्ट्रिय गौरवसहितका मुख्य ९ सडक आयोजनालाई छुट्याइएको बजेटमध्ये एकतिहाई बढी अर्थात् ४० प्रतिशत बजेट फ्रिज भएको छ । गत वर्ष ९ सडक आयोजनाहरूका लागि कुल ६३ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोमध्ये २५ अर्ब ११ करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत वर्ष यी आयोजनाहरुले ६०.५८ प्रतिशत अर्थात् कुल ३८ अर्ब ५९ करोड रुपैयाँ मात्र खर्च गरेका छन् ।
ठेकेदारको ढिलासुस्ती, रुख कटानमा ढिलाइ, निर्माण समग्रीको अभाव, सरकारको वेवास्ता, ठेक्का प्रक्रियामा ढिलाइ लगायत कारणले राष्ट्रिय गौरवका सडकले आयोजनाले गति नलिँदा बजेट पनि खर्च हुन नसकेको हो ।
यद्यपि, केही आयोजनाको प्रगति सन्तोषजनक रहे पनि भुक्तानी बाँकी रहेको मन्त्रालयको भनाइ छ । गत वर्ष काम भएका राष्ट्रिय गौरवसहितका ९ आयोजनाको अझै ४ अर्ब बढी भुक्तानी बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
प्रमुख विकासे मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालयको समग्र बजेट खर्च निराशाजनक रहेको छ । गत आवमा मन्त्रालयको पूँजीगत खर्च ६४.५८ प्रतिशत मात्र रहेको छ ।
मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन भएको थियो । त्यसमध्ये पूँजीगततर्फ १ खर्ब ५१ अर्ब ४४ करोड छुट्याइएको थियो । सोमध्ये १ खर्ब ४ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । राष्ट्रिय गौरवका आयोजनामा पनि सोचेअनुरूप खर्च हुन नसक्दा समग्र मन्त्रालयको बजेट खर्च न्यून भएको हो ।
कुन आयोजनाले कति खर्च गरे ?
समीक्षा अवधिमा राष्ट्रिय गौरवसहितका ९ मुख्य सडक आयोजनामध्ये ६ वटाले आधा बढी बजेट खर्च गरेका छन् भने ३ वटाले आधा पनि बजेट खर्च गर्न सकेका छैनन् ।
सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौं–तराई/मधेश द्रुतमार्गको बजेट खर्च सबैभन्दा निराशजनक रहेको छ यस आयोजनाले कुल बजेटको ४९.६२ प्रतिशत मात्र खर्च गरेको छ । सडक आयोजना मध्ये सबैभन्दा धेरै २९ अर्ब ९९ करोड रुपैयाँ बजेट पाएको द्रुतमार्गले गत वर्षमा १४ अर्ब ८८ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
७२ किलोमिटर लामो यस सडकखण्डलाई ११ प्याकेजमा विभाजन गरी निर्माणको काम भइरहेको छ । ११ प्याकेजमध्ये अझै ३ खण्डको ठेक्का लाग्न सकेको छैन । नेपाली सेनाले निर्माण गरिरहेको यस सडकको हालसम्म कुल भौतिक प्रगति २६ प्रतिशत हाराहारीमा रहेको छ ।
यस्तै, राष्ट्रिय गौरवकै आयोजना अन्तर्गत रहेको नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनामा पनि सोचेअनुरूप पूँजीगत खर्च हुन सकेको छैन । गतु आवमा पूँजीगततर्फ ५ अर्ब ४० करोड विनियोजन भएकोमा २ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ४३.१४ प्रतिशत मात्र हो । हालसम्म यस आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत रहेको छ ।
त्यसैगरी, नारायणगढ–बुटवल सडक आयोजनाले आधा पनि बजेट खर्च गर्न सकेन । दुई खण्डमा विभाजन गरी काम भइरहेको यस सडकले गत वर्ष ३६.५२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । गत वर्ष आयोजनाका लागि कुल ७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ विनियोजन भएकोमा २ अर्ब ७३ करोड रुपैयाँ खर्च मात्रै खर्च भएको छ । उक्त सडकको म्याद आगामी भदौ ११ गतेसम्म मात्रै भए पनि आलसम्म ४० प्रतिशत मात्र काम सकिएको छ ।
त्यस्तै, गत वर्ष राष्ट्रिय गौरवको गल्छी -स्याफ्रुबेंसी-रसुवा सडकले ७३.३६ प्रतिशत बजेट खर्च गरेको छ । यस आयोजनाका लागि कुल ७७ करोड ७९ लाख बजेट छुट्याइएकोमा ५७ करोड ७ लाख बजेट खर्च भएको छ ।
त्यसैगरी, मुग्लिन– पोखरा सडकको पनि बजेट खर्च निराशाजनक रहेको छ । गत वर्ष यस सडकका लागि ३ अर्ब ६२ करोड बजेट छुट्याइएकोमा २ अर्ब २५ करोड मात्र बजेट खर्च भएको छ । यो कसल बजेटको ६२.१५ प्रतिशत मात्र हो ।
चार आयोजनाको भने ९० प्रतिशत धेरै बजेट खर्च
गत वर्षमा ४ वटा राष्ट्रिय गैरवका आयोजनाले भने सन्तोषजनक खर्च गरेको छन् । मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षीण लोकमार्ग र कान्ति लोकपथले भने कुल बजेटको ९० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् ।
मदनभण्डारी लोकमार्ग अन्तर्गत गाईघाट सडकखण्ड ।चालु आवमा मदन भण्डारी राजमार्गले सबैभन्दा धेरै ९८.६२ प्रतिशत बजेट खर्च गरेको छ । यस आयोजनाका लागि ५ अर्ब ८ करोड बजेट विनियोजन भएकोमा ५ अर्ब १ करोड रुपैयाँ खर्च भएको छ ।
यस्तै, कान्ति लोकपथले ९१.५७ प्रतिशत बजेट खर्च गरेको छ । आयोजनाका लागि १६ करोड ७० लाख बजेट छुट्याइएकोमा आयोजनाले १५ करोड १५.२३ लाख रुपैयाँ बजेट खर्च गरेको हो ।
यसैगरी, उत्तर दक्षिण राजमार्ग (कोशी, कालीगण्डकी र कर्णाली करिडोर)को ९३.३५ प्रतिशत बजेट खर्च भएके छ । गत आवमा ४ अर्ब ६ करोड बजेट छुट्याइएकोमा ३ अर्ब ७९ करोड बजेट खर्च भएको छ ।
त्यस्तै, गत वर्ष हुलाकी राजमार्गले ९७.७१ कजेट खर्च गरेको छ । यस आयोजनाका लागि ६ अर्ब ९८ करोड बजेट छुट्याइएकोमा ५ अर्ब १ करोड बजेट खर्च भएको छ ।