अपि पावरको ४० मेगावाटको अपर चमेलियाबाट परीक्षण उत्पादन सुरू

सांकेतिक तस्वीर

काठमाडौं । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ । अपि पावर कम्पनीले निर्माण गरेको सो आयोजनाको शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युत्गृहमा पानी खसालेर शुक्रबार परीक्षण सुरु गरिएको हो ।

उनले भने, ‘आयोजनाको ६ हजार १०० मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ । शुक्रबार विद्युत्गृहमा पानी खसालेर मेसिनको परीक्षण सुरु गरिएको हो ।’

शनिबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब दुई सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए ।

निर्माण कम्पनीका अनुसार रु ८ अर्ब लागतमा ३० महिनामै निर्माणकार्य सम्पन्न भएको हो ।

निफ्राको नाफामा उछाल, लाभांश क्षमता कति ? Read Previous

निफ्राको नाफामा उछाल, लाभांश क्षमता कति ?

४१७ मेगावाटको नलगाड जलविद्युतकाे डीपीआर तयार, लगानी जुटाउन जाइकासँग छलफल Read Next

४१७ मेगावाटको नलगाड जलविद्युतकाे डीपीआर तयार, लगानी जुटाउन जाइकासँग छलफल