काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा १३ वटा पुल निर्माण सम्पन्न भएको छ । सडक स्तारेन्नतिपछि यस खण्डमा १५ वटा नयाँ पुल निर्माण गर्न ठेक्का लागेकोमा हालसम्म १३ वटा पुल निर्माण सम्पन्न भएको हो ।
अब २ वटा पुल निर्माण मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीले हालसम्म १३ वटा पुल निर्माण भइसकेको बताए । उनले केही पुल संचालनमा समेत आइसकेका छन् भने केही पुलको स्ट्रक्चर बनिसकेको र अब सडकसँग जोड्न मात्र बाँकी रहेको बताए ।
‘हामीले १३ वटा पुल निर्माण गरिसकेका छौँ, ५ वटामा गाडी गुडिरहेको छ, बाँकी पुललाई सडकसँग जोड्न बाँकी छ, हाल पूरा नै पुलबाट गाडि गुडिरहेको छ,’ कार्कीले चाणक्य पोष्टसँग भने ‘सडक विस्तार भएसँगै पुलहरू सडकसँग जोडिने छन् ।’
उनले गत आर्थिक वर्ष २०७९÷८० मा मात्र ५ वटा पुल निर्माण सम्पन्न भएको बताए । ३८.८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको क्रममा जुगेडी, रिक्दी, नाम्छि, चिसेन्दी र तोपेको पुल निर्माण पूरा भएको हो ।
आयोजनामा १५ वटा पुल रहेकोमा हालसम्म १३ वटा पुल निर्माण पूरा भएको हो । उक्त खण्डमा अब २ वटा पुल निर्माण गर्न बाँकी रहेको छ । खहरे १ र तुइन खोलामा मात्र पुल बनाउन बाँकी रहेको कार्कीले बताए । उनका अनुसार सबै पुल ४० मिटरदेखि ७० मिटर लामो रहेका छन् ।
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । गत पुसभित्रै पुल निर्माण सक्नुपर्ने भए पनि अझै काम बाँकी रहेको हो ।
सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् ।
प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ । पुल र नक्साङ्कनका लागि मात्र रु ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम रु ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि रु ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो ।
दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ ७.५ मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ ।