काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ओटीसी (ओभर दी ट्रेड) मार्केटमा ८४ कम्पनीको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत वर्ष ८४ कम्पनीको कुुल २ अर्ब ८५ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख कित्ता सेयर किनबेच भएको हो ।
ओटीसी मार्केटमा भएको सेयर कारोबार मार्फत सरकारले पूँजीगत लाभकर ५ करोड २९ लाख रुपैयाँ प्राप्त गरेको छ ।
कारोबारमा आएका कम्पनी मध्ये सबैभन्दा धेरै काठमाडौं फरेस्टी कलेजको प्रतिकित्ता ११२५ रुपैयाँमा सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल स्टक एक्सचेन्जको प्रतिकित्ता ६६७ रुपैयाँ, लर्ड बुद्ध कलेजको ५०० रुपैयाँमा कारोबार भएको छ ।
२०७२ देखि कम्पनी रजिष्ट्रारको कार्यालय अनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा हुन नसकेका पब्लिक कम्पनीहरूको सेयरको कारोबार तथा नामसारी ओटीसी बजार मार्फत गर्न सकिने व्यवस्था छ ।
२०६४ देखि नेप्सेले सञ्चालनमा ल्याएको ओटीसी मार्केटेमा हालसम्म २०६ कम्पनी ओटीसी मार्केटमा दर्ता भएका छन् ।