काठमाडौं । स्मार्ट लाइसेन्स छपाइका लागि आवश्यक कार्ड आयातमा ढिलाइ भएको छ । गत असार मसान्त भित्रै १२ लाख कार्ड आयात भइसक्नुपर्ने भए पनि अझै आइनपुगेको हो ।
यातायात व्यवस्था विभागले गत वर्ष १२ लाख स्मार्ट कार्ड आयातका लागि ठेक्का लगाएको थियो । जर्मनीको मचल्बर आइडी सर्भिसले १४ लाख ९८ हजार डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) रुपैयाँको ठेक्का पाएको थियो । तर, सो कम्पनीले अहिलेसम्म कार्ड ल्याउन सकेको छैन ।
यातायात विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले स्मार्ट लाइसेन्समा राखिने चिप्स पर्याप्त नभएको कारण आयातमा ढिला भइरहेको बताए । उनले हाल आयातका लागि स्मार्ट लाइसेन्स तयारी भइरहेको बताए ।
‘आयातका लागि लाइसेन्स प्रिन्ट भइरहेको छ, लाइसेन्समा हुने चिप्स अभाव भएकोले आयातमा ढिलाइ भएको हो,’ पनेरुले चाणक्य पोष्टसँग भने । उनले आगामी २ महिनामा स्मार्ट कार्य आयात भइसक्ने जानकारी दिए ।
त्यसका साथै आगामी आर्थिक वर्षका लागि थप १४ लाख स्मार्ट कार्ड आयात गर्ने योजना बनाएको छ । विभागका अनुसार चाँडै उक्त कार्ड आयातका लागि समेत ठेक्का आह्वान गरिनेछ ।
थप एउटा मास प्रिन्टर खरिद गर्दै विभाग
विभागले स्मार्ट लाइसेन्स प्रिन्टका लागि थप एउटा मास प्रिन्टर मेसिन खरिद गर्दै छ । उक्त मेसिन आए वार्षिक १६ लाख बढी स्मार्ट कार्ड प्रिन्ट गर्न सक्ने छ । १० करोड रुपैयाँ लागतमा आयात गर्न लागिएको मास प्रिन्टर मेसिनको ठेक्का आह्वान गरिसकेको हो ।
उक्त आह्वानमा ४ कम्पनीले आवेदन दिए पनि उक्त कम्पनी क्वालिफाइड नभएको पनेरुले बताए । उक्त मास प्रिन्टरका लागि फेरि नयाँ ठेक्का आह्वान गरिने उनले बताए । उनले साउन महिना भित्रै उक्त ठेक्का आह्वान गरिने जानकारी दिए ।
ठेक्का पाउने कम्पनीले सम्झौता भएको मितिदेखि ३ महिनाभित्र मास प्रिन्टर आयात गर्नुपर्ने हुन्छ । कम्पनीले यो मेसिन इन्स्टलदेखि सबै सफ्टवेयर काम पनि गर्नुपर्ने व्यवस्था ।