काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीयम संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ५.७१ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत असार मसान्तसम्म ११ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १० करोड ५६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेर २८ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, सञ्चालन नाफा ५.८८ प्रतिशत बढेर १५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । खराब कर्जा बढ्दा लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल ८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ३९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको वितरणयोग्य मुनाफामा ८ करोड ८ लाख रुपैयाँ छ ।
नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३.१२ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी २८ पैसा घटेर १२.८४ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३.४६ रुपैयाँ रहेको छ । यस अवधिमा खराबकर्जा दोब्बरले बढेर १.२२ प्रतिशत पुगेका छ।