काठमाडौं। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले हवाई इन्धन डिपो निर्माण सुरु गरेकाे छ ।
निगमले विमानस्थल परिसरमा १२ लाख लिटर क्षमताका ३ वटा अर्थात् कुल ३६ लाख लिटर क्षमताको हवाई इन्धन भण्डारण ट्यांकी निर्माण थालेकेा हाे ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त डिपो निर्माणको शिलान्यास गरेका हुन्। निगमले विमानस्थलमा करिब ७७ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो।
अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन। विमानस्थल परिसरभित्र डिपो नहुँदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ। अब भने यो हवाई इन्धन भण्डारण बनेपछि उक्त झन्झटबाट मुक्त हुने निगमले जनाएको छ।
हवाई इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरण क्यानसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो।
७७ करोड २९ लाख रूपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन्। उक्त निर्माण कम्पनीले काम सुरु भएको १ वर्षमा डिपो निर्माण सम्पन्न गर्नु पर्ने निगमले जनाएको छ।
निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ।मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौ वटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन।