लयमा फर्किँदै घरजग्गा कारोबार, असारमा झण्डै ४९ हजार किनबेच

काठमाडौं । घरजग्गा व्यवसाय एक वर्ष अघिकै अवस्थामा फर्किएको छ । २०७९ जेठदेखि ओरालो लागेको घरजग्गा कारोबार पछिल्ला महिनाहरूमा क्रमशः सुधार आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को असारमा अघिल्लो वर्षको सोही अवधिकोभन्दा बढी घरजग्गा किनबेच भएको हो ।

घरजग्गा किनबेच जेठको तुलनामा असारमा ६२९८ ले घटे पनि अघिल्लो असारको तुलनामा १७४३ ले बढेको छ । जेठ महिनामा १५ महिना यताकै सर्वाधिक घरजग्गा किनबेच भएकोमा असारमा भने केही घटेको देखिन्छ ।

सरकारले २०७८/७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि मन्दीतर्फ गएको घरजग्गा व्यवसाय फेरि सोही रफ्तारमा फर्किएको तथ्यांकले देखाएको छ । २०७९/८० कोे अन्तिम महिना असारमा १ लाख १९ हजार घरजग्गा कारोबार भएको विभागले जनाएको छ । जेठमा यस्तो कुल कारोबार १ लाख ५६ हजार भएको थियो ।

सरकारले भूउपयोग नियमावलीको संशोधन प्रक्रिया अघि बढाएको छ भने चालू आर्थिक वर्षको बजेट मार्फत कित्ताकाट खुला गर्ने घोषणा गरेको थियो ।

मन्त्रिपरिषद्ले गत वैशाखमै कित्ताकाट खुला गर्ने निर्णय गरे पनि हालसम्म नियमावली संशोधनकै प्रक्रियामा छ भने कार्यान्वयनमा आएको छैन । पछिल्लो समय जग्गाा वर्गीकरण गर्ने स्थानीय तहको संख्या पनि बढ्दै गएको छ । सोही कारण कित्ताकाट वृद्धि भएर घरजग्गाको कारोबार पनि बढेको हो ।

भूउपयोग नियमावलीले स्थानीय तहमा भूउपयोग परिषद् गठन गरेर जग्गालाई विभिन्न दश भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । २०७९ जेठ २३ देखि कार्यान्वयनमा आएको नियमावली अनुसार २३ पुस २०७९ भित्र स्थानीय तहले कृषि र गैरकृषि जमिनको वर्गीकरण गरिसक्नु पर्ने व्यवस्था गरेको थियो । तर, हालसम्म सबै स्थानीयतहले जग्गाको वर्गीकरण गरेका छैनन् । सोही कारण गत जेठयता घरजग्गा कारोबारमा मन्दी आएको थियो ।

२०७९/८० मा साढे चार लाख किनबेच

विभागका अनुसार आव २०७९/८० मा कुल ४ लाख ६७ हजार घरजग्गा किनबेच भएका छन् । यस वर्ष नामसारी, फुकुवा,रोक्का लगायतगरी कुल कारोबार १३ लाख ३३ हजार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ७ लाख ४५ हजार किनबेच हुँदा १८ लाख १४ हजार कुल कारोबार भएको थियो । जेठमा २०७९/८० कै सर्वाधिक ५५ हजार ६९ घरजग्गाको लिखत पारित भएको थियो ।

त्यस्तै, वैशाखमा ४२ हजार ४१६, चैतमा ४९ हजार १५०, फागुनमा ४० हजार ७३४, माघमा ४१ हजार ८६, पुसमा ३८ हजार ८७१, मंसिरमा २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो ।

त्यसैगरी, असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । त्यस्तै, कात्तिकमा २७ हजार ९३९, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो ।

असारमा यी ठाउँमा भयो धेरै किनबेच

असारमा सबैभन्दा धेरै तराईका जिल्लाहरूमा सर्वाधिक घरजग्गा किनबेच भएको छ । विभागका अनुसार सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट २६६० घरजग्गा किनबेच भएको छ ।

मालपोत कार्यालय बेलवारी, मोरङबाट २२७२ घरजग्गा किनबेच भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा २०५२, नेपालगञ्ज, बाँके १९४६, मालपोत कार्यालय भक्तपुरबाट १९१० घरजग्गा किनबेच भएको छ ।

यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर १८४७, भद्रपुर, झापा १५४२, मालपोत कार्यालय पर्सा १५३२, मालपोत कार्यालय कलंकी काठमाण्डौं १४९१, विराटनगर १२३७ र मालपोत कार्यालय बुटवलबाट १२२५ घरजग्गा किनबेभ भएको छ ।

राजस्व भने बढ्यो

जेठको तुलनामा असारमा घरजग्गा किनबेच तथा कारोबार घटे पनि राजस्व संकलन भने बढेको छ । अघिल्लो महिनाको तुलनामा असारमा ५१ करोड रुपैयाँ राजस्व बढेको हो ।

असारमा सरकारले घरजग्गा कारोबार बापत ४ लाख २७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । जेठमा ३ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको थियो । यस वर्ष घरजग्गा बापत सरकारले कुल ४१ अर्ब ७८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

घरजग्गा कारोबार बापत प्राप्त हुने राजस्व संकलन चैतमा वर्षकै सर्वाधिक भएको थियो । सरकारले चैतमा ४ अर्ब ५० करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

फागुनमा ३ अर्ब ५६ करोड, माघमा ३ अर्ब ७५ करोड, पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ, मंसिरमा २ अर्ब ६५ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब, असोजमा २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

 

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित) Read Previous

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन Read Next

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन