भारत सरकारले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका हुन् ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको भारतीय दूतावासले जनाएको छ ।

त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए ।

राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए ।

यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई ९७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान Read Previous

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

चालु वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

चालु वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट