काठमाडौं । असारमा मात्रै बैंकिङ प्रणालीमा झन्डै पौने २ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्षको माघयता सहज हुँदै गएको तरलता असारमा बाढी लागेको हो ।
सरकारले आर्थिक वर्षको अन्तिम महिना असारे विकासको नाममा पूँजीगत खर्च बढाउँदा बैंकमा निक्षेपको थुप्रो लागेको हो । सरकारले असारमा कुल २ खर्ब रुपैयाँ खर्च गर्दा बैंकिङ प्रणालीमा झन्डै पौने २ खर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असारको २७ दिन (असार १ देखि २७ गतेसम्म) मात्रै बैंकिङ प्रणालीमा १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप बढेकोे छ । असार १ गते समग्र वित्तीय प्रणालीमा कुल ५५ खर्ब ६८ अर्ब निक्षेप रहेकोमा असार २७ गते आइपुग्दा बढेर ५७ अर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीमा कुल ७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत असार मसान्तसम्म कुल निक्षेप ५० खर्ब १६ अर्ब रुपैयाँ थियो ।
लगातार निक्षेप थपिए पनि कर्जा लगानी नहुँदा पैसा बैंकमै थुप्रिएको छ । राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा झन्डै साढे ४ खर्ब लगानी योग्य रहेको छ ।
तरलता थुप्रिएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । असार २७ गते समग्र बैंकिङ प्रणालीको सीडी रेसियो ८१.६७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ ।
प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले धमाधम रिभर्स रिपो जारी गर्दै पैसा खिचिरहेको छ । असारमा मात्रै पटक पटक गरेर राष्ट्र बैंकले ९० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरिसकेको छ ।
कर्जा लगानी भने उल्टो घट्यो
असारमा १ खर्ब ६८ अर्ब कर्जा निक्षेप थपिँदा बैंकहरूको कर्जा लगानी भने उल्टो घटेको छ । असारमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ७ अर्बले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५८ अर्ब रुपैयाँ रहेकोमा असार २७ गते आइपुग्दा ७ अर्बले घटेर ४८ खर्ब ५१ अर्बमा सीमित भएको छ ।
चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ५० अर्ब रुपैयाँ मात्र कर्जा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रमा १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखे पनिसाढे ३ प्रतिशतमा सीमित भएको छ ।
अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजदरका कारण कर्जाको माग नहुँदा बैंकहरूले लगानी गर्न नसकेका हुन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था विरुद्ध भएको अराजक गतिविधि र आन्दोलनका कारण बैंकहरूले कर्जा लगानी भन्दा असुलीमा ध्यान दिँदा कर्जा विस्तार सुस्त भएको हो ।