पोखरामा १ करोड लिटरको डिजेल ट्यांकी निर्माण पूरा, १ महिनाको माग धान्ने

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा १० हजार किलोलिटर (१ करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले ८९ करोड रुपैयाँ लागतमा पोखरा महानगरपालिकाको गगनगौँडास्थित प्रादेशिक कार्यालय परिसरमा उक्त भण्डार गृह निर्माण गरेको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ५०/५० लाख लिटर क्षमताका दुई वटा डिजेलको भण्डारण ट्याङ्की निर्माण सम्पन्न भएको बताए । डिजेल ट्याङ्कीसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्की पनि निर्माण गरिएको उनले बताए ।

‘पोखरामा ५० लाख लिटर क्षमताका दुई वटा डिजेल भण्डारण ट्याङकी निर्माण सम्पन्न भएको छ, यसले गण्डकी प्रदेशका डिजेलको भण्डारणमा ठूलो सहयोग पुर्याउने छ,’ ठाकुरले चाणक्य पोष्टसँग भने । सो भण्डार गृहमा अब चाँडै संचालनमा ल्याइने उनको भनाइ छ ।यो भण्डारण गृह अमलेखगञ्जपछिको दोस्रो ठूलो भण्डारण गृह रहेको निगमले जनाएको छ ।

निगमले झण्डै २५ वर्षपछि गण्डकी प्रदेशमा भण्डारण क्षमता विस्तार गरेको हो । उनका अनुसार नयाँ भण्डार गृहको डिजेलले गण्डकी प्रदेशको झन्डै एक महिनाको माग धान्ने छ । ‘ठूलो भण्डारण गृह नहुँदा नाकाबन्दी तथा बन्द हडतालको बेला धेरै सास्ती भोग्नु पर्थ्यो, अब त्यस्तो हुँदैन, यसमा भएको इन्धनले गण्डकी प्रदेशलाई मात्र झन्डै १ महिना हाराहारी पुग्छ ।’

पोखरा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुने निगमले जनाएको छ । हाल गण्डकी प्रदेशमा ५०० किलोलिटर पेट्रोल र २ हजार ५०० किलोलिटर डिजेल क्षमताको भण्डारण गृह रहेको छ । विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण हुन सकेको थिएन ।

इन्धन भण्डारण ट्याङ्क र यसमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटेड हुने छन् । डिजेल लोड तथा अनलोड सुविधा पूर्णरूपमा स्वचालित हुनेछन् । पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २०७७ कात्तिक २७ गते उक्त भण्डारण गृहको शिलान्यास गरेका थिए ।

अम्लेखगञ्जमा थप दुई भण्डार गृह बन्दै

यस्तै, अम्लेखगञ्जमा डिपो निर्माणको काम सुरू गरिएको छ । उक्त डिपो निर्माणको दोस्रो चरणको प्रकृया पूरा भई कार्य योजना बनिसकेको उनले बताए । दोस्रो परियोजना अन्तगर्त अम्लेखगन्जमा ४१/४१ सय किलोलिटर क्षमताको दुईवटा पेट्रोलियम पदार्थ भन्डारण डिपो बनिरहेको छ ।

अन्य प्रदेशहरूमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउन मट्टीतेल राख्र्ने भर्टिकल ट्यांक (ठाडो ट्यांक) मा पेट्रोल तथा डिजेल भण्डारण गर्ने निगमको योजना रहेको छ । मट्टीतेलको खपत कम भएसँगै आयात पनि कम भएको छ । अर्को तर्फ डिजेल तथा पेट्रोलको आयात र माग चुलिँदै गएको छ । यसैलाई मध्येनजर गर्दै निगमले मटितेलका भण्डारणलाई पेट्रोल तथा डिजेल भण्डारणमा कन्भर्सन गर्न लागेको प्रवक्ता ठाकुरले बताए ।

निगमले विराटनगरमा ७ लाख ६० हजार लिटरको र भैरहवामा ३७९ किलोलिटरको मट्टीतेल टंयाकीलाई पेट्रोल तथा डिजेल भण्डारणमा कन्भर्ट गर्न लागेको छ ।

यस्तै, नेपालगञ्ज र पोखरामा रहेका मट्टीतेलका टंयाकलाई पेट्रोल भन्डारणका लागि प्रयोग गरिने भएको छ । पोखरामा रहेको २२ सय ५० किलोलिटरको डिजेल भण्डारण टंयाकलाई पनि भविष्यमा पेट्रोल भण्डारणमा परिवर्तन गरिने निगमको योजना रहेको छ । उक्त डिजेल भण्डारणलाई नयाँ बन्दै गरेको ५/५ हजार किलोलिटरको भण्डारण बनेपछि पेट्रोल भण्डारणका रुपमा परिवर्तन गरिने भएको हो ।

‘पहिले पेट्रोलको खपत कम थियो, अहिले दिनदिनै खपत बढ्दै गएकाले हामीले पेट्रोलको भण्डारण क्षमता बढाउनु परेको हो,’ प्रवक्ता ठाकुरले भने ‘डिजेलको भण्डारण क्षमता पेट्रोलको तुलनामा बढि छ, विगतमा मट्टितेलको भण्डारण गर्न राखेका भर्टिकल ट्यांकहरूलाई अहिले पेट्रोल राख्न उपयोग गर्नेगरी योजना ल्याएका छौँ ।’

२५० मेगावाट बिजुली प्रवाह गर्नसक्ने चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइन सञ्चालनमा Read Previous

२५० मेगावाट बिजुली प्रवाह गर्नसक्ने चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइन सञ्चालनमा

राष्ट्रिय सभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित Read Next

राष्ट्रिय सभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित