अर्थतन्त्र ट्रयाकमा ड्राइभ गर्न ‘चुके’का गभर्नर, अवस्था प्रतिकूल कि नियत खराब ?

काठमाडौं । साढे तीन वर्षअघि नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको चौथो मौद्रिक नीति ल्याउने तयारीमा छन् । सम्भवतः साउन पहिलो साता आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति आउने छ ।

गर्भनर अधिकारीले चौथो मौद्रिक नीति आउँदै गर्दा यसअघिका तीन मौद्रिक नीति र बजेटको भने तादम्यता मिलेको देखिँदैन । बजेटले लिएको लक्ष्य एकातिर र मौद्रिक नीति अर्कोतिर देखिएका थिए । कतिपय अवस्थामा बजेट र मौद्रिक नीतिका व्यवस्था उल्टा समेत थिए । यस्तै, कुनै मौद्रिक नीति अति खुकुलो र कुनै आवश्यकताभन्दा कडाइ गरिएको छ ।

नेपाल राष्ट्र बैंक सरकारको प्रमुख आर्थिक सल्लाहकार हो । सरकारले लिएको आर्थिक नीति सफल बनाउन भूमिका खेल्नु राष्ट्र बैंकको दायित्व हो । सिद्धान्ततः हेर्न हो भने राष्ट्र बैंकले सरकारले बजेटमा राखेका लक्ष्य र नीति कार्यान्वयनमा सहयोग पुग्ने मौद्रिक नीति ल्याउनुपर्छ । यद्यपि, राष्ट्र बैंक स्वायत्त निकाय भएकाले देशको विद्यमान आर्थिक अवस्थाका आधारमा मौद्रिक नीति ल्याउन स्वतन्त्र छ ।

सरकारले आगामी वर्षको लागि महत्वकांक्षी बजेट ल्याइसकेको छ । शिथिल अर्थतन्त्र चलायमान बनाउन अब बजेटले भन्दा पनि मौद्रिक नीतिले भूमिका खेल्नुपर्ने सरकारको भनाइ छ । अर्थमन्त्री प्रकाशशरण महतले दिनहुँजसो सार्वजनिक फोरमहरूमा पनि मौद्रिक नीतिले नै अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताउँदै आएका छन् । भलै, अर्थतन्त्रको ‘रिफर्म’मा बजेटले लिनुपर्ने दिशा र संरचना सुधारमा चुकेको यथार्थ सबैका सामु छ ।

अहिले बैंकिङ प्रणलीमा अधिक तरलता थ्रुप्रिएको छ । शिथिल अर्थतन्त्र चलायमान बनाउन ब्याजदर घटाउनुपर्ने दबाब छ । उपभोग्य क्षेत्रमा जाने कर्जा निरुत्साहन गर्दै उत्पादन क्षेत्रमा लैजानुपर्ने चुनौती छ । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धि राखेको छ । त्यसलाई हासिल गर्न निजी क्षेत्रमा कर्जा विस्तार खुकुलो बनाउनुपर्ने देखिन्छ । तर, राष्ट्र बैंकले धेरै खुकुलो मौद्रिक नीतिमा देखिएको छैन् । स्वयम् गभर्नर अधिकारी र राष्ट्र बैंकका पदाधिकारीहरुले भने खुकुलो मौद्रिक नीति नआउने संकेत दिइसकेका छन् ।

आर्थिक नीतिको दायरा (फिस्कल स्पेस) साँघुरो भएका कारण मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार गर्नुपर्छ भन्ने कित्तामा उनी स्पष्ट छन् । यसको कडीको रूपमा खुकुलो मौद्रिक नीतिका लागि गभर्नरमाथि प्रत्यक्ष वा परोक्ष दिइरहेको दबाबलाई पनि लिन सकिन्छ । अर्कोतिर, गभर्नरले यथास्थितिमा नीतिगत अंकुश लगाएर असफल बनाउने भय पनि उनमा छ ।

अर्थमन्त्री र गभर्नरको यो टसलको शृंखला तात्कालिक मात्र होइन । त्यसको चेपुवामा भने अर्थतन्त्र परेको छ । अधिकारीलाई २०७६ चैत २४ मा तत्कालीन सत्तासिन दल एमालेले गभर्नरमा नियुक्ति गर्यो । त्यो बेला अर्थमन्त्रीमा युुवराज खतिवडा र पछि विष्णु पौडेल आए । यही अवधिमा कोभिडले समग्र आर्थिक गतिविधि नै ठप्प बनायो ।

कोभिडले थंथिलो भएको अर्थतन्त्र जटिल अवस्थामा हुँदा अधिकारीले आर्थिक रिफर्मको नीति लिए । सरकारले लिएका सहुलियत कर्जा, पुनरकर्जा, पुर्नतालिकीकरण लगायत नीतिहरू सजिलै अनुमोदन गरे ।उनले मौद्रिक नीतिमार्फ आवश्यकताभन्दा सुविधा समेत दिए । अर्थतन्त्रका धेरै क्षेत्र सीतिम अवधिमै ‘भाइब्रेन्ट’ भए ।

तर, गत वर्ष उनले मुद्रास्फीति नियन्त्रण गर्नेभन्दै नीतिगत बैंकदरहरु बढाए । जसले कर्जाको ब्याजदर महँगिँदा शिथिल अर्थतन्त्र झनै शिथिल बन्न पुगेको जानकारहरु बताउँछन् । अघिल्लो वर्ष बैंकहरुले अन्धाधुन्द कर्जा विस्तार गर्दा हेरेर बसेका गभर्नरले गत वर्ष कर्जा विस्तारमा अंकुश लगाए । अघिल्लो वर्ष उदार भएका गभर्नर गत वर्ष अनुदार हुँदा अर्थतन्त्रमा झन् नकारात्मक असर देखियो । अघिल्लो वर्ष आफैंले फराकिलो बनाएको मार्ग एकैपटक घाँटी च्यापिदिँदा आर्थिक वृद्धि नै ऋणात्मक भयो । र, आन्तरिक अर्थतन्त्र आजको अवस्थामा पुग्यो ।

सरकारले तीव्र आर्थिक वृद्धिको आकांक्षासहित एसडीजी, विकासशील राष्ट्रमा स्तरोन्नति हुने सरकारले योजना र लक्ष्य तय गरेको छ । अर्थतन्त्र दुघर्टनामा नपर्नेगरी राष्ट्र बैंकले विस्तारै नीतिगत कडाइ गर्न सक्थ्यो । तर, यसको पछाडि जिम्मेवार निकायमा बसेकाहरूको राजनीतिक स्कुलिङ र नियत खराब थियो भन्न हिच्किचाउनु पर्दैन् । घटनाक्रम र गभर्नर अधिकारीको सरकार परिवर्तनसँगैको नीतिगत कदमले बारम्बार पुष्टि गरिसकेको छ ।

२०७८ मा काँग्रेस नेतृत्वको सरकारमा जनार्दन शर्मा अर्थमन्त्रीको जिम्मेवारीमा आएदेखि नै राष्ट्र बैंकले मौद्रिक अंकुश सुरू गरेको थियो । सरकारलाई असहयोग गरेको कारण देखाएर उनलाई पदबाट निलम्बन समेत गरियो । पछि सर्वोच्चले पुनर्वहाली गरेसँगै उनी काममा फर्किए ।

एम अधिकारी छद्म नाममा एमालेको अर्थविभाग सदस्य समेत रहेको बाहिरिएपछि उनी त्यसको बचाउमा उत्रिए । तर, त्यसका तरंगहरू भने अर्थतन्त्रमा जकडी रहे । गत पुसमा सरकार फेरिएपछि अर्थमन्त्रीमा एमाले नेता विष्णु पौडेल दोहोरिए ।

यता गभर्नर तत्कालै नीतिगत उपकरणहरू खुला गर्न तयार भए । त्यसको एउटा उदाहरण चालू पूँजी कर्जा नीति संशोधन पनि हो । करिब दुई महिना अघि मात्रै यो नीति वित्तीय क्षेत्रका लागि पोलिसी डिपार्चर भनेका राष्ट्र बैंककै अन्य कर्मचारी संशोधनले नाजवाफ भए ।

त्यसको एउटा मात्रै कारण सरकारको पक्षमा पोजेटिभ देखिनु थियो । होइन भने, हिजोसम्म खत्तमै भएको अर्थतन्त्र कसरी एकाएक सुधार भयो यसको जवाफ स्वयं अधिकारी बाहेक अरूसँग छैन ।

गत वर्ष विदेशी विनिमय संचिति घट्दै गएको थियो । बाह्य क्षेत्रको यो दबाब कम गर्न एक वर्षसम्म केही वस्तु आयातमा प्रतिबन्ध लगाइयो । तर, त्यसको असर भने उल्टो देखियो ।

सार्वजनिक वित्त र राजस्वमा प्रत्यक्ष असर पर्यो भने वस्तुको उपभोग घटेन् । सारमा त्यो हुनुको रेमिट्यान्स कारक थियो भन्ने बुझ्न अझै राष्ट्र बैंक तयार छैन । नेपाललाई श्रीलंकाको त्रासदेखाएर राष्ट्र बैंकले सरकार असफल बनाउने नीति लिएको वित्तीय क्षेत्रका जानकारको टिप्पणी छ ।

आर्थिक वृद्धि र अर्थतन्त्रको हाइवेलाई भत्किने त्रास देखाएर यथास्थितिमा राख्ने गभर्नरको नीति र नियती अर्थतन्त्रको हितमा छैन । उल्लेखित विषयहरूले नै उनका नीतिहरू एमाले सरकारमा हुँदा सहयोग गर्ने र अरू हुँदा नगर्ने स्कुलिङबाट प्रेरित भएको देखाउँछ ।

अर्थमन्त्रालयको नेतृत्वबाट पौडेल एक महिनामै बाहिरिएपछि गत माघदेखि प्रकाशशरण महतले सम्हालिरहेका छन् । तर, उनका सामु पनि गभर्नर अधिकारीले छनोटको मेन्यू राखिसकेका छन्, श्रीलंका बन्ने कि आर्थिक स्थायित्व राख्ने ।

आर्थिक स्थायित्व र मूल्यवृद्धि नियन्त्रणको रटान लगाएर नीतिगत रूपमा राष्ट्र बैंक विचलनको बाटोमा छ नै । जुन आर्थिक वृद्धिका लागि घातक पनि हो । अर्कोतिर राजनीतिक दल प्रेरित कदमले समग्र अर्थतन्त्रलाई कति नोक्सानी गर्दो रहेछ भन्ने बलियो दृष्टान्त पनि ।

तीव्र आर्थिक वृद्धिको प्रतिस्पर्धामा आजको दिनमा कुनै पनि केन्द्रीय बैंकले अर्थतन्त्रको स्टेरिङ ओगटेर राख्दैन् । स्पष्ट, फराकिला र सुरक्षीत रुपी नीति बनाएर कुद्न दिनुपर्छ नकि दुर्घटनाको त्रास देखाएर खिया लगाउने छुट छ ।

नीतिगत तहबाटै सुल्झाउन छोडेर बल्झाइएका यी समस्याहरू सम्बोधन गर्न अर्थमन्त्रीले गभर्नरसँग सम्बन्ध सुधार आवश्यक छ । गभर्नरले पनि राजनीतिक दलको स्वार्थबाट प्रभावित नीति र निर्णयबाट माथि उठ्न सक्नुपर्छ ।

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न प्रक्रिया अघि बढ्यो, ९३ अर्ब लाग्ने Read Previous

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न प्रक्रिया अघि बढ्यो, ९३ अर्ब लाग्ने

रेल सेवा विस्तार, असार ३१ देखि महोत्तरीको बिजलपुरादेखि जयनगरसम्म चल्ने Read Next

रेल सेवा विस्तार, असार ३१ देखि महोत्तरीको बिजलपुरादेखि जयनगरसम्म चल्ने