काठमाडौं । नेशनल हाइड्रोपावरले आज (कार्यालय समय)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १:०.५ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८२ करोड २१ लाख ४५ हजार ९७ हजार १०० रुपैयाँ बराबरको ८२ लाख २१ हजार ९७१.७८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीको हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कहिलेसम्म सेयर किनेकाले हकप्रद भर्न पाउँछन् ?
कम्पनीले हकप्रद प्रयोजनका लागि असार १ गते बुकक्लोज तोकेको थियो । सो अनुसार जेठ ३२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।
हाल १ अर्ब ६४ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ४६ करोड पुग्नेछ ।