७ नयाँ ब्रोकरले थाले सेयर कारोबार

काठमाडौं । हालै लाइसेन्स पाएका ७ वटा नयाँ धितोपत्र दलाल (ब्रोकर)हरूले सेयर कारोबार सुरु गरेका छन् । नेप्सेले असार २१ गते सदस्यता (ब्रोकर नं.) प्रदान गरेको ७ ब्रोकरले आजदेखि सेयर किनबेच थालेका हुन् ।

पहिलोपट कारोबार सुरु गरेका नयाँ ब्रोकरहरूले परीक्षणका रुपमा थोरै थोरै कित्ता सेयर किनबेच गर्दै आफ्नो सेवा सुरु गरेका छन् । यी ब्रोकरहरूले आज न्यूनतम १० देखि अधिकतम ११० कित्तासम्म सेयर कारोबार गरेका छन् ।

नेप्सेका अनुसार सबै ब्रोकरबाट सेयर खरिद मात्र भएको छ भने बिक्री भएको छैन । आज परीक्षण कारोबार गरेका यी ब्रोकरहरूले आइतबारदेखि नियमित कारोबार गर्ने जनाइएको छ ।

नेप्सले गत असार २१ गते क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, ले भोला गणेश सेक्युरिटिज, सन् सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, प्रोपर्टी बिजवार्ड र मियो सेक्युरिटिजलाई सदस्यता नम्बर दिएको थियो ।

नेप्सले भोला गणेशलाई ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ६३, सन् सेक्युरिटिज ६४, सेयर प्रो ६५, मियो सेक्युरिटिज ६६ र प्रोपर्टी बिजवार्डलाई ६७ नम्बर दिएको छ ।

नेपाल धितोपत्र बोर्डले दुई चरणमा १८ वटा नयाँ ब्रोकरलाई लाइसेन्स दिएको थियो । तीमध्ये पहिलो चरणमा नेप्सेबाट सदस्यता पाएकाले आजदेखि कारोबार सुरु गरेका छन् भने बाँकी ११ ब्रोकरले पनि चाँडै सदस्यता पाउने नेप्सले जनाएको छ ।

नयाँ ७ ब्रोकरले कारोबार थालेसँगै सक्रिय ब्रोकरको संख्या ५७ पुगेको छ ।

 

चोभारमा अन्तर्राष्ट्रियस्तरकाे फलफूल तथा पुष्प बजार निर्माण अन्तिम चरणमा Read Previous

चोभारमा अन्तर्राष्ट्रियस्तरकाे फलफूल तथा पुष्प बजार निर्माण अन्तिम चरणमा

८ कम्पनीको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने Read Next

८ कम्पनीको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने