फोहोरका गाडीमा ककनीको कर : अधिकारको प्रयोग कि ‘बखेडा’ ?

काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा लैजाँदा कर तिर्नुपर्ने भएको छ । नुवाकोटको ककनी गाउँपालिकाले आर्थिक विधेयक २०८० मार्फत साउन १ देखि फोहोर बोकेर बञ्चरेडाँडा जाने गाडीलाई १०० देखि १ हजार ५०० रुपैयाँसम्म प्रवेश शुल्क लगाउने व्यवस्था गरेको हो ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले प्रदुषण नियन्त्रणका लागि प्रवेश शुल्क लिने निर्णय गरेको बताए । ‘यो खास फोहोरको सन्दर्भसँग जोडेर निर्णय गरेको विषय हो । सबै सवारी साधनका लागि होइन,’ उनले चाणक्य पोष्टसँग भने, ‘फोहोरले निम्त्याएको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले स्वपहलमा पालिकाले यो व्यवस्था गरेको हो ।’

फोहोर फाल्ने स्थानीय तहहरू छलफलमा समेत बस्न नचाहने र बलमिच्याइँ जस्तो गतिविधि गरिएको उनले बताए । ‘उहाँहरूले बलमिच्याँइ जस्तो गतिविधि गरिरहेको गरिरहेका छन् । दुर्गन्ध न्यूनीकरण, अतिप्रभावित बासिन्दालाई स्वास्थ्य लगायत केही राहत गर्न सकिन्थ्यो भन्ने हिसाबले प्रवेश शुल्क लिन लागिएको हो,’ उनले भने ।

ककनीको निर्णय संविधान अनुसार कि विपरीत ?

संविधान अनुसार स्थानीय तहसँग सवारीको आगमनलाई प्रभावित गर्ने गरी यस्तो सेवा शुल्क लिन पाउने अधिकार छैन । तर, गाउँपालिका अध्यक्ष फोहोरका सवारीलाई मात्रै प्रवेश शुल्क लिने निर्णय भएको बताउँछन् ।

‘संविधानको भाग १९ मा प्रस्ट लेखिएको छ कि स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्र कानुन बनाएर कर ठाउन पाउने भन्ने छ । कर लगाउने यो विषय एउटा संविधान अनुसार नै हो,’ उनले भने ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि स्थानीय तहले क्षेत्राधिकार भित्र रहेर कर लगाउन सक्ने भए पनि पालिकाको यो निर्णयले काठमाडौंलाई झक्झक्याउने पक्का छ ।

‘जत्ति हारगुहार गर्दा समेत नमान्ने र नपत्याउने जस्तो परिघटना देखिएकाले सेवाशुल्क लिने र न्यूनीकरणको लागि पहल गर्ने निर्णय गरेका हौं,’ तामाङ भन्छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले गाउँपालिकाबाट आधिकारिक रूपमा जानकारी नआएको बताए । ‘यो विषयमा हामीलाई आधिकारिक जानकारी आएको छैन । नगरपरिषद्ले सवारी प्रवेशमा कर लगाउने निर्णय गर्यो भन्ने हामीले पनि सञ्चारमाध्यमबाटै जानकारी पाएका छौं,’ उनले भने ।

फोहोर व्यवस्थापनमा अवरोधको आशंका

यससँगै काठमाडौं महानगरपालिका लगायत उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि अवरोध हुन्छ कि भन्ने आशंका व्यक्त गर्न थालिएको छ । विगतमा पनि स्थानीयको अवरोधका कारण महिनौंसम्म काठमाडौंको सडकमा फोहोर थुप्रिएको थियो ।

अहिले काठमाडौं महानगरसहित उपत्यकाका १८ वटा स्थानीय तहको फोहोर बन्चरे डाँडा, सिसडोल क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आइएको छ । यी ठाउँका स्थानीय र पालिकाले फोहोरले पारेको असरको विषय बारम्बार उठाउँदै आएका छन् ।

तर, ठोस पहल नहुँदा यो समस्या सधैं बल्झिने गरेको छ । सोही कारण विगतमा स्थानीयको अवरोधले धेरै समयसम्म फोहोर उठ्न नसकेको समस्या उपत्यकाले भोगिसकेको छ ।

गाउँपालिकाका अध्यक्ष तामाङ फोहोर व्यवस्थापन जहाँ भइरहेको छ, त्यहाँको स्थानीय तहसँग छलफल समेत हैकमले समस्या समाधान नगर्ने बताउँछन् ।

‘यो सुरूआत हो । छलफलमा समेत बस्न नचाहने उहाँहरूको जुन हैकम छ । त्यसले राम्रो फोहोर मैला व्यवस्थापनको विषयलाई समाधान गर्दैन,’ उनले भने । यो विषयमा प्रधानमन्त्री कार्यालयदेखि सहरी विकास मन्त्रालयसँग समेत परामर्श गर्दा केही निष्कर्ष ननिस्कएको उनले बताए ।

काठमाडौंको बेवास्ताले बाध्य भएको ककनी

फोहोबाट स्थानीयमा परेको असर र त्यहाँ बढाएको प्रदूषणको विषयमा काठमाडौं लामो समयदेखि बेखबर छ । पटकपटक स्थानीय तहसँग सहमति गर्ने तर ती निर्णय पालना नहुँदा विवाद सतहमा आउने गरेको छ ।

अध्यक्ष तामाङ काठमाडौंले आफ्नो पीडा नबुझेको बताउँछन् ।
‘यो बर्खाको समयमा कति दुर्गन्ध फैलिन्छ, यहाँको सर्वसाधारणलाई कति असहज भएको छ भन्ने एक घण्टा दुई किलोमिटर परबाटै हेरिदिए पनि थाहा हुन्थ्यो,’ उनले भने ।

फोहोर मैला व्यवस्थापन ऐन, २०६८ ले दुई वा दुईभन्दा बढी स्थानीय तहको फोहोर व्यवस्थापन केन्द्र यदि हुन्छ भने त्यो व्यवस्थापन केन्द्रको स्थानीय तहसँंग सरसल्लाह, स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । तर, छलफल गर्न आग्रह गर्दा रैती जस्तो बनाइएको उनको भनाइ छ ।

‘२०६२ मा फोहोर फालियो । त्यत्तिबेला स्थानीय तह थिएन । २०७२ देखि हामीले छलफल गर्न आउनुस् भन्दा हामीलाई उहाँको रैती जस्तो बनाएर राखियो,’ उनले भने ।

काठमाडौंले छलफलमा बस्ने प्रयास नगरेपछि आफूहरूले पनि परामर्श नगरेको उनले बताए । पछिल्लो पटकको यो निर्णय जानकारी गराइएको उनले बताए ।

 

काठमाडौंका यी आधादर्जन सडक 'वान वे' बनाइँदै Read Previous

काठमाडौंका यी आधादर्जन सडक 'वान वे' बनाइँदै

ब्याजदरको कार्टेलिङ खारेज, अब बैंकले आफूखुसी ब्याज तोक्न सक्ने Read Next

ब्याजदरको कार्टेलिङ खारेज, अब बैंकले आफूखुसी ब्याज तोक्न सक्ने