काठमाडौं । पछिल्लो समय नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भदौदेखि नै उकालो लागेको प्याजको भाउ पछिल्लो दुई हप्तामा दोब्बरले बढेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा कात्तिक १५ गते प्रतिकेजी ९० रुपैयाँमा कारोबार भएको प्याजको खुद्रा मूल्य शुक्रबार प्रतिकेजी १ सय ८० पुगेको छ ।
कालिमाटी बजारमा प्याजको थोक मूल्य नै प्रतिकेजी १ सय ५५रुपैयाँसम्म पुगेको हाे । यस्तै, खुद्रा बजारमा प्याजको मूल्य १ सय ८० रुपैयाँ सम्म पुगेको व्यवसायी बताउँछन् ।
राष्ट्रिय कृषि समूह महासंघका अध्यक्ष उद्धव अधिकारीका अनुसार भारतले प्याजमा रोक लगाएपछि चोर बाटोबाट भित्र्याइएको प्याज बजारमा आएकाले त्यसको मूल्य बढ्न गएको हो ।
भारतले निर्यातमा रोक लगाए पनि केही मात्रामा प्याज भारतीय बजारबाट लुकिछिपी नेपाल आयात भइरहेको छ । यसरी लुकिछिपि आयात हुने प्याज बजारमा कम उपलब्ध हुँदा मूल्य वृद्धि हुन पुगेको हो ।
उनले नेपाली बजारमा ९५ प्रतिशत प्याज भारतबाट आयात हुने भएकाले आयात हुन छाडेपछि बजारमा प्याजको मूल्य ह्वातै आकाशिएको बताए । ‘हामी प्याजमा पूर्ण परनिभर छाैं, ९५ प्रतिशत प्याज भारतबाट आउँछ, बाँकी ५ प्रतिशत मात्र हाम्रै उत्पादनले धानेको छ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।
भारतले निर्यातमा रोक लगाए पनि केही मात्रामा प्याज भारतीय बजारबाट लुकिछिपी नेपाल आयात भइरहेको छ । यसरी लुकिछिपि आयात हुने प्याज बजारमा कम हुँदा मूल्य वृद्धि हुन पुगेको हो ।
भारतले प्याज निर्यातका कारण यसको भाउ महँगो भएको भन्दै असोज १२ गतेदेखि निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतिमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब २६ करोड २ लाख रुपैयाँ बराबरको प्याज आयात भएको छ । सो अवधिमा ३ करोड ६३ लाख ५१ हजार केजी प्याज आयात भएको हो ।
गत आर्थिक वर्ष २०७५/७६ को असोज मसान्तसम्ममा १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ बराबरको प्याज आयात भएको थियो । सो अवधिमा ३ करोड ९७ लाख ८१ हजार केजी प्याज आयात भएको थियो ।
गत आवमा कूल ५ अर्ब २६ करोड ९६ लाख रुपैयाँ बराबरको प्याज आयात भएको थियो । सो अवधिमा १६ करोड ७९ लाख केजी प्याज आयात भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा कुल ४ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ बराबरको प्याज आयात भएको थियो । सो अवधिमा ३१ करोड १ लाख केजी प्याज आयात भएको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा कूल ३ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको प्याज आयात भएको थियो । सो अवधिमा १२ करोड ३३ लाख केजी प्याज आयात भएको थियो ।