काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । खरिदकर्ता र बिक्रेता बीच बार्गेनिङ हुँदा तीव्र उतरचढाव आएको नेप्से अन्त्यमा ४ अंकले घटेर बन्द भएको हो ।
सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९४ करोड घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा आइपुगेको छ । यसदिन २८३ कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ३.४२ प्रतिशतले बढेको छ ।
आज हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको पौने १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे १२ करोड र सोल्टी होटल साढे १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन पावर र एनआइबीएल समृद्धि फण्ड २ को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, रावा इनर्जी र लिबर्टी इनर्जीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।