काठमाडौं । असार लागेसँगै बैंकिङ प्रणालीमा निक्षेप बढ्ने क्रम तीव्र भएको छ । सरकारले पूँजीगत खर्च बढाएसँगै बैंकमा पैसा आउने क्रम पनि बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा आइतबार एकैदिन २० अर्ब निक्षेप थपिएको छ । शनिबारसम्म समग्र बैंकिङ प्रणालीमा कुल ५६ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा आइतबार बढेर ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको माघ यता बैंकिङ प्रणालीमा लगातार निक्षेप बढिरहेको छ । अहिले बैंकिङ प्रणालीमा झन्डै ४ खर्ब रूपैयाँ तरलता थुप्रिएको छ । तरलता बढे पनि कर्जाको माग नहुँदा बैंकहरूले राष्ट्र बैंकबाट पाउने स्थायी तरलता सुविधा समेत लिन छाडेका छन् ।
आइतबार २० अर्ब निक्षेप थपिए पनि कर्जा लगानी भने हुन नसकेको राष्ट्र बैंकले जनाएको छ । आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ६१ अर्ब कर्जा लगानी गरेका छन् । अर्थतन्त्रमा आएको संकुचन, महँगो ब्याजदर, केही क्षेत्रमा कर्जा लगानीमा राष्ट्र बैंकको कडाइ लगायत कारणले कर्जाको माग बढ्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप (सीडी) अनुपात सीमाभन्दा झन्डै ८ प्रतिशत कम अर्थात् ८२.०३ प्रतिशतमा झरेको छ ।
प्रणालीमा अधिक तरलता भएसँगै अन्तर बैंक ब्याजदर आधाभन्दा धेरैले घटेको छ । गत पुसरमाघतिर ८ प्रतिशत माथि पुगेको अन्तर बैंक ब्याजदर अहिले डेढ प्रतिशतभन्दा तल झरेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबार अन्तर बैंक ब्याजदर १.३६ प्रतिशतमा झरेको छ । यो पछिल्लो एक वर्ष यताकै कम हो ।
कर्जाको अधिक माग हुँदा बैंकहरूले एक अर्को बैंकसँग पैसा सापटी लिएर लगानी योग्य रकमको व्यवस्थापन गर्छन् । यस्तोमा एक बैंकले अर्को बैंकलाई ब्याज तिनुपर्दछ ।
यद्यपि, अन्तर बैंक ब्याजदर घटे पनी ऋणीले राहत पाउने छैनन् । ऋणीले राहत पाउन बैंकहरूको बेसरेट नै घट्नु पर्ने हुन्छ । बैंकहरुले वैशाखदेखि लगातार कर्जाको ब्याजदर घटाउँदै आएका छन् भने आगामी महिना पनि घटाउने देखिन्छ ।
बैंकमा पैसा थुप्रिएपछि खिच्दै राष्ट्र बैंक
प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले धमाधम पैसा तान्न थालेको छ । असार तेस्रो सातासम्म मात्रै राष्ट्र बैंकले तीन पटक रिभर्स रिपो जारी गरेर ५० अर्ब रुपैयाँ खिचिसकेको छ ।
यद्यपि, यसअघि राष्ट्र बैंकले खिचेको केही पैसा रिलिज भइसकेको छ । राष्ट्र बै्रंकले छोटा अवधि एकदुई हप्ताका लागि मात्रै प्रणालीबाट पैसा तान्ने गरेको छ ।
यस्तै, आज मात्रै राष्ट्र बैंकले फेरि प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । मंगलबार एक सचना जारी गर्दै राष्ट्र बैंकले १४ दिन (साउन ९ गतेसम्म)का लागि २० अर्बको रिभर्स रिपो जारी गर्न लागिएको जनाएको छ । ।