काठमाडौं । घोराही सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने सबैले कम्तीमा १० कित्ता पाउने भएका छन् ।
धितोपत्र बाँडफाँट निर्देशिका अनुसार भाग पुगेसम्म सबैलाई कम्तीमा १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन सोमबार ५ बजेसम्म कुल ६ लाख ७३ हजार ८३९ जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांकले आइनसकेकाले आवेदकको संख्या केही बढ्न सक्ने सीडीएससीले जनाएको छ ।
कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ताका सेयर बिक्रीमा ल्याएको थियो ।सो अनुसार ६ लाख ९१ हजार १६० जनालाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्छ ।बाँड्न पुग्ने संख्याभन्दा आवेदकको संख्या कम भएकाले विधिसम्मत आवेदन दिएका सबैले १० कित्ता सेयर पाउने निश्चित छ ।
सबै आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्दा पनि करिब २० हजार बढी आवेदकले २० कित्ता सेयर पाउने देखिन्छ ।विधिसम्मत आवेदन नदिएकको आवेदन रद्द हुने भएकाले २० कित्ता पाउनेको संख्या अझै बढ्न सक्छ ।