पोखरा विमानस्थलमा उडान गर्न विदेशी एयरलाइन्सको चासो, भैरहवामा दुईको प्रस्ताव

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न एक विदेशी वायुसेवा कम्पनीले चासो देखाएको छ । संचालनमा आएको ६ महिना बित्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको उक्त विमानस्थलमा उडान गर्न तिब्बेत एयरलाइन्सले प्रस्ताव गरेको हो ।

यद्यपि,तिब्बेत एयरलाइन्सले औपचारिक नभई अनौपचारिक रूपमा प्रस्ताव गरेको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले आधिकारिक रूपमा प्रस्ताव नआए पनि मौखिक रूपमा तिब्बतबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न प्रस्ताव आएको बताए ।

उनले सो प्रस्तावको बारेमा अहिले अनौपचारिक छलफल भइरहेको बताए । ‘ पोखराबाट बुद्ध एयरले भारतको बनारसका लागि अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव गरेको थियो, भारतले रुट नदिएपछि उडान रद्द भयो,’ उनले चाणक्य पोष्टसँग भने, ‘त्यसपछि अन्तर्राष्ट्रिय उडानका कुनै औपचारिक रूपमा प्रस्ताव आएको छैन । अहिले तिब्बत उडान गर्न मौखिम प्रस्ताव आएको छ ।’

उनले आगामी दिनमा तिब्बतका लागि उडान गर्ने योजना भए पनि आधिकारिक रूपमा कुनै प्रस्ताव नआएको बताए । गत पुस १७ देखि संचालनमा आएको उक्त विमानस्थलबाट बुद्धले अन्तर्राष्ट्रिय उडान गर्न अनुमति मागे पनि भारतले रुट अनुमति नदिँदा रोकिएको थियो ।

उक्त विमानस्थलमा असार ६ गते चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । यद्यपि, उक्त उडान नियमित नभई चार्टर्ड उडान थियो ।

गौतमबुद्धमा दुई एयरलाइन्सको चासो

यसैगरी, मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई विदेशी एयरलाइन्सले चासो देखाएका छन् ।

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न श्रीलंकन एयरलाइन्स र भुटानको ड्रुक एयरले चासो देखाएका हुन् । भुटानको ड्रुक एयरले पारो–गया–भैरहवा रुटमा भैरहवामा उडान गर्न प्रक्रिया अगाडि बढाएको प्रवक्ता भुलले बताए ।

हाल भैरहवा विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।

 

सङ्घीय संसदको नयाँ भवनको फिनसिङ गर्न बाँकी, युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन  Read Previous

सङ्घीय संसदको नयाँ भवनको फिनसिङ गर्न बाँकी, युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन 

घोराही सिमेन्टको आइपीओ सबैले कम्तीमा १० कित्ता पाउने Read Next

घोराही सिमेन्टको आइपीओ सबैले कम्तीमा १० कित्ता पाउने