काठमाडौं । काठमाडौं महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याइएका ढुङ्गा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ ।
महानगरपालिका वडा नं. २५ ले ढुङ्गाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो । चालु आर्थिक वर्षमा नमुनाका रुपमा ६ हजार ५०० वर्गफिट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डङ्गोलले राससलाई जानकारी दिए।
ब्लक छाप्ने क्रममा पुरानो ड्रेन भरिएको भनी गुनासो आएपछि ढलका लागि पाइप राखिएको पनि उनले बताए । ढुङ्गाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने गरेकाले वातावरण मैत्री ब्लक छापिएको वडा कार्यालयले जनाएको छ ।
ढुङ्गा फुटेर समस्या हुने गरेकामा एशियन ब्लक कम्पनीले पाँच वर्षसम्म ब्लक फुटेमा आफैँ फेरिदिने सम्झौता गरिएकाले सहज भएको वडा सदस्य कृष्ण प्रजापतिले बताए ।
पहिले राखिएको ढुङ्गा निकालेर वडाले सुरक्षित राखेको छ । ढुङ्गाकै माग गर्ने टोलमा भने यही छाप्ने योजना पनि वडा कार्यालयले बनाएको छ ।
बैगुनधुरा निर्माण सेवाका सुपरभाइजर उत्तम श्रेष्ठ ढुङ्गा बिच्छ्याउँदा बेला बेलामा मर्मत गर्नुपर्नेमा ब्लक राखेपछि त्यसो गर्नु नपर्ने बताउँछन् । ढुङ्गा फुटेर जनप्रतिनिधिलाई हुने समस्या पनि ब्लक छापेपछि समाधान हुने उनले सुनाए ।