काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । गत साता १०३ अंकले घटेको नेप्से यससाता पहिलो दिनमै दोहोरो अंक्ले कमब्याक गरेको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज ३ अर्ब ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको छ । यसदिन २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४.६३ प्रतिशतले बढेको छ ।
आज हिमालयन इन्स्यारेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १६ करोड र सोल्टी होटल १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज रावा इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सिटी होटल ९.५२, मनकामना स्मार्ट लघुवित्त ७.७५, माउन्टेन इनर्जी ७.५६ र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ६.६७ प्रतिशतले बढेको छ ।