प्रदेशको बजेट खर्च झनै दयनीय : झन्डै आधा फ्रीज हुने, कुनले कति खर्च गरे ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चमा प्रदेश सरकारहरुको अवस्था झनै दयनीय रहेको छ । संघीय सरकारले चालु आवमा विनियोजित बजेटको करिब तीन चौथाई मात्र खर्च गरेको छ भने प्रदेश सरकारले औसतमा आधा पनि बजेट खर्च  गरेका छैनन् ।

चालु आवकाे जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू ३ खर्ब ६ अर्बमध्ये जेठ मसान्तसम्म रू १ खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९.४५ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१.४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६.२५ प्रतिशत बजेट खर्च गरेका छन् ।

सो अवधिमा बागमती प्रदेशले ५०.६२ प्रतिशत, गण्डकी प्रदेशले ४८.१९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५.५४ प्रतिशत, कर्णाली प्रदेशले ४५.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८.५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालुतर्फको औसत खर्च ५५.६८ प्रतिशत र पूँजीगततर्फको औसत खर्च ४६.११ प्रतिशत छ ।

कोशी प्रदेश

कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल रू ३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू २४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालुतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ ।

चालु आवका चालुतर्फ रू १६ अर्ब ६२ करोड र पूँजीगततर्फ रू २३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालुतर्फ रू ११ अर्ब ६५ करोड र पूँजीगततर्फ रू १२ अर्ब ८६ करोड खर्च भएको छ ।

मधेश प्रदेश

अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कम छ । चालु आर्थिक वर्षका लागि कुल रू ४६ अर्ब ९८ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू १७ अर्ब तीन करोड खर्च भएको छ । जुन वार्षिक विनियोजनको ३६.२५ प्रतिशत बराबर हो ।

मधेश प्रदेशले ११ महिनामा चालु शीर्षकमा ३३ प्रतिशत र पूँजीगत शीर्षकमा ३८.३४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ रू २० अर्ब ८० करोड बजेट रहेकोमा रू ६ अर्ब ९९ करोड ६७ लाख मात्रै खर्च भएको छ । त्यस्तै, पूँजीगत शीर्षकमा रू २६ अर्ब १८ करोड बजेट रहेकोमा विनियोजनको ३८ प्रतिशत अर्थात् रू १० अर्ब चार करोड खर्च भएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशले चालु आर्थिक वर्षका लागि रू ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएकोमा जेठ मसान्तसमममा ५०.६२ प्रतिशत अर्थात् रू ३५ अर्ब ९१ करोड बजेट खर्च गरेको छ । यस अवधिसम्ममा बागमती प्रदेशको बजेट खर्च चालु शीर्षकमा ६१.६१, पूँजीगत शीर्षकमा ४६ प्रतिशत र वित्तीय व्यवस्थापन शीर्षकमा ३० प्रतिशत बराबर छ ।

चालु शीर्षकमा रू २६ अर्ब ८४ करोड बराबर बजेट रहेकोमा रू १६ अर्ब ५३ करोड, पूँजीगत शीर्षकमा रू ४२ अर्ब नौ करोड बजेट छुट्याइएकोमा रू १९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापन शीर्षकमा रू दुई अर्ब बजेट छुट्याइएकोमा रू ६० करोड खर्च भएको छ ।

गण्डकी प्रदेश

जेठ मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च ४८ प्रतिशत बराबर छ । यो प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा रू १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पूँजीगत शीर्षकमा ४५.८२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु शीर्षकमा रू १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा रू ६ अर्ब ९५ करोड र पूँजीगत शीर्षकमा रू २२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा रू १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू ५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको बजेट खर्च चालु आवको जेठ मसान्तसम्म रु २३ अर्ब ७३ करोड बराबर छ । जुन चालु आर्थिक वर्षका लागि यो प्रदेशले छुट्याएको कुल विनियोजनको ५५.५४ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल रू ४२ अर्ब ७३ करोड बराबरको बजेट ल्याएको थियो । चालु शीर्षकमा रू १७ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा ६१.२० प्रतिशत अर्थात् रू १० अर्ब ९८ करोड र पूँजीगत शीर्षकमा रू २४ अर्ब ७९ करोडको बजेट ल्याइएकोमा ५१.४५ प्रतिशत अर्थात् रू १२ अर्ब ७५ करोड बराबर खर्च भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशले चालु आवको जेठ मसान्तसम्म ४५.६० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि कुल रू ३२ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको कर्णाली प्रदेशले यो अवधिसम्ममा रू १४ अर्ब ९३ करोड बराबर बजेट खर्च गरेको देखिन्छ ।

चालु शीर्षकमा ५३.६४ प्रतिशत र पूँजीगत शीर्षकमा ४०.२५ प्रतिशत बजेट खर्च भएको देखिन्छ । कर्णाली प्रदेशले चालु शीर्षकमा चालु आवका लागि रू १३ अर्ब आठ करोड बराबर विनियोजन गरेकोमा रू सात अर्ब एक करोड र पूँजीगत शीर्षकमा रू १९ अर्ब ६६ करोड विनियोजन गरेकोमा रू सात अर्ब ९१ करोड बराबर खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३६ अर्ब ७९ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा ४८.५४ प्रतिशत अर्थात् रू १७ अर्ब ८६ करोड बराबर खर्च गरेको छ ।

प्रदेशले चालु शीर्षकमा रू १२ अर्ब २५ करोड विनियोजन गरेकोमा ५५.३२ प्रतिशत अर्थात् रू छ अर्ब ७८ करोड खर्च गरेको छ । पूँजीगत शीर्षकमा रू २४ अर्ब २३ करोड विनियोजन भएकोमा ४५.७१ प्रतिशत अर्थात् रू ११ अर्ब सात करोड बराबर खर्च गरेको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू ३० करोड बजेट छुट्याएको सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको ११ महिना अवधिसम्ममा उक्त रकम खर्च गर्न सकेको छैन ।

१२०० मेगावाटको बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व फिल्डमा Read Previous

१२०० मेगावाटको बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व फिल्डमा

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी