कान्ति राजमार्गकाे यी तीन ठाउँमा दुई लेनका पुल निर्माण गरिने

सांकेतिक तस्वीर

काठमाडौं । निर्माणाधीन कान्ति राजमार्गमा तीन ठाउँमा पुल निर्माण गरिने भएको छ । तीन पुलको निर्माणका लागि प्रक्रिया अघि बढेको कान्ति राजमार्ग योजनाले जनाएको छ ।

पहिले एक लेनको पुल रहेकामा सडक जतिकै चौडा बनाउन तीन ठाउँमा दुई लेनको पुल निर्माण अघि बढाउन लागिएको योजना प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।

ललितपुरतर्फ बगुवामा पुल निर्माणका लागि प्राविधिक पक्षको मूल्याङ्कनको काम भइरहेको उनले बताए । त्यो सकिएपछि आर्थिक प्रस्तावमा जाने उनले जानकारी दिए ।

मकवानपुरतर्फ सिमाद खोलामा पुल बनाउन लागिएको छ । सिमाद खोलाका दुई पुलकै लागि ठेक्का आह्वान भइसकेको छ । यो आवमा तीनवटै पुलको ठेक्का सम्झौता भइसक्ने उनले बताए । योजना प्रमुख न्यौपानेले भने, ‘सम्झौता भएपछि आगामी आवदेखि निर्माणमा जान सकिनेछ ।’

बगुवाको पुल निर्माणको अवधि साढे दुई वर्ष र अरु दुई वटाको १५/१५ महिनाको रहेको योजनाले जनाएको छ । बगुवाको पुलको लम्बाइ ९५ मिटर रहेको छ । यसलाई लामो पुल मानिने र अरु दुई पुल भने १८ र ३५ मिटरका रहेका छन् । उनले भने, ‘यी दुई पुललाई छोटो मानिन्छ ।’

बगुवामा दुई लेनको पुल निर्माण हुनेछ । गाडी हिँड्ने भाग सात मिटर, त्यो बाहेक पैदलयात्रु मार्ग दुवैतर्फ डेढ÷डेढ मिटर गरेर जम्मा १० मिटर हुने प्रमुख न्यौपानेले जानकारी दिनुए। कान्ति राजमार्गमा सडक नालीसमेत गरी ११ मिटर रहेको छ ।

सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेटमा अरू योजनामा बजेट कम भए पनि यो योजनामा गत वर्षहरूको तुलनामा बजेट कम नभएको उनले बताए । योजनामा सडक र पुलहरू निर्माणाधीन रहेकाले पनि बजेट कम नभएको हो ।

निर्माण सुरु भएको छ दशकपछि राजमार्गको निर्माण थोरै मात्रै बाँकी रहेको छ । खासगरी कठिन भौगोलिक संरचना भएको र विगतका वर्षहरूमा पटक पटक पहिरा आएको सडकखण्डमा कालोपत्रे गर्न बाँकी रहेको छ ।

अहिले कालोपत्रे गरे पनि पहिरोले क्षति पुर्याउने हुँदा पहिले समस्याग्रस्त खण्डको व्यवस्थापन गरी निर्माण अघि बढाउन लागिएको न्यौपानेले बताए । सो खण्डको निर्माणका लागि अर्थ मन्त्रालयसँग रु ६६ करोडका लागि स्वीकृति माग गरिएको छ । बहुवर्षीय ठेक्कामार्फत स्रोत सुनिश्चित भएपछि नै थप काम गर्न सकिने भएको छ ।

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो स्पष्टीकरण Read Previous

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो स्पष्टीकरण

पूर्वपश्चिम रेलमार्गको आगामी वर्ष नयाँ ठेक्का नलगाइने Read Next

पूर्वपश्चिम रेलमार्गको आगामी वर्ष नयाँ ठेक्का नलगाइने