काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनामा बैंकिङ प्रणालीमा अधिक तरलता भएको छ । पूँजीगत खर्च वृद्धिको रफ्तार र कर्जा लगानी नहुँदा लगानीयोग्य स्रोत प्रणालीमै थुप्रिएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ क्षेत्रसँग अहिले साढे तीन खर्ब रुपैयाँ बढी तरलता छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसीयो (निक्षेप—कर्जाको अनुपात) आइतबारसम्म औषतमा ८३.४७ प्रतिशतमा झरेको छ । ९० प्रतिशत सीडी अनुपातसम्म कर्जा लगानी गर्न पाउने नियामकीय व्यवस्था छ ।
यसले पनि बैंकसँग कर्जा लगानीका लागि पर्याप्त रकम छ भन्ने देखाउँछ । चालु वर्षको यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
निक्षेपको तुलनामा कर्जा वृद्धि नहुँदा लगानीयोग्य स्रोत प्रणालीमै थुप्रिदै गएको छ । आर्थिक वर्षको सुरुमा तरलता अभावका कारण लगानी गर्न नसकेका बैंक अहिले ऋणको माग नभएर समस्यामा छन् ।
वित्तीय क्षेत्रका जानकारहरुका अनुसार विगतको प्रवृत्ति हेर्दा पनि असारमा कर्जाको वृद्धि भएको छैन । आवको अन्तिम महिना भएकाले बैंकहरु असारमा कर्जा अशुलीमै केन्द्रित हुने गरेका छन् । राष्ट्र बैंकले चालु वर्षमा १२.६ प्रतिशतले कर्जा विस्तारको लक्ष्य राखेको थियो । तर, वर्षको अन्तिमसम्म ५ प्रतिशत पनि वृद्धि हुन नसकेको तथ्यांकले देखाउँछ ।
लगानीको बाटो खोज्दै बैंक
मंगलबार राष्ट्र बैंकले २० अर्बको रिभर्स रिपो जारी गर्दा बैंकहरुले २८ अर्ब ८० लाखको बिड गरेका थिए । प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले यसअघि दुई सातामै ३० अर्ब रुपैयाँ खिचेको थियो ।
योसँगै दुई सातामा राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ रिभर्स रिपो मार्फत तरलता लिइसकेको छ । तर, बैंक भने अझै लगानी गर्ने बाटो खोजिरहेका छन् । प्रणालीमा अधिक तरलता भएकै कारण बैंकहरुले मंगलबार ५.३७ प्रतिशत अधिकतम् र न्युनतम ४.४९ प्रतिशत ब्याजदरमा बिड गरेका थिए ।
कर्जाको माग नहुँला संस्थाहरु लगानीमा ठप्प प्राय भएका छन् । ब्याजदर न्यून विन्दुमा आउँदा समेत आर्थिक गतिविधिमा आएको सुस्तताका कारण लगानीका लागि मानिसको मनोबल बढ्न सकेको देखिदैन ।
घट्दै ब्याजदर
अधिक तरलताको कारण बैंकको ब्याजदर पनि घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार अहिले बैंकको औषतमा अन्तर बैंक ब्याजदर ३.४२ प्रतिशतमा आएको छ ।
सर्टटम् इन्ट्रेष्ट रेट पनि निकै सस्तो भएको तथ्यांकले देखाउँछ । बजारमा तरलता हुँदा ब्याजदर घट्ने र अभाव हुँदा बढ्ने गर्छ । सोही कारण अहिले बैंकको आधारदर नै ७.५ प्रतिशत कायम भएको छ ।
यसअवभिमा वाणिज्य बैंकको डिपोर्जिट रेट ८.०८ प्रतिशत छ भने कर्जाको ब्याजदर औषतमा १२.६५प्रतिशतमा आएको छ ।