पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका खोल्न पर्यटन व्यवसायीको माग

पोखरा । पर्यटकीय नगरी पोखराको पर्यटन विकासका लागि व्यवसायीहरुले नियमित अन्तर्राष्ट्रिय उडान गर्न र चीनसँगको सीमानाका कोरला नाका खोल्न माग गरेका छन् । आर्थिक आवाजले आइतबार पोखरामा आयोजना गरेको ‘दीगो पर्यटन र विकास’ विषय अन्तिक्रियामा व्यवसायीहरुले पोखराको पर्यटन विकासका लागि आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पाहुनालाई गर्ने व्यवहार जति राम्रो हुन्छ त्यसले पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह भएर पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । व्यवसायीले सेवा र वस्तुको मूल्य नेपाली र विदेशीलाई धेरै फरक गर्न नहुने उनको भनाइ थियो ।

नीति तथा योजना आयोग, गण्डकीका उपाध्यक्ष डा. कृष्ण देवकोटाले अहिले फेवाताल घुम्ने नीति अनुसार ‘राउन्ड फेवा, भिउ फेवा’ अवधारणा ल्याइएको बताए । यसले पर्यटकको बसाईं पोखरामा लम्ब्याउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशको दोस्रो पञ्चवर्षीय योजना बनाउँदा पर्यटन क्षेत्रको गुरुयोजना बनाएर त्यसैअनुसार योजनामा समावेश गर्ने डा. देवकोटाले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र पर्यटन सचिवबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताए । पर्यटकीय राजधानी घोषणा भएपछि लगानी बढाउनुपर्ने र पूर्वाधार थप्नेतिर व्यवसायीले पनि सोच्न आवश्यक रहेको उनले बताए । ‘पोखराको खास गुरुयोजना अझै बनिसकेको छैन । पोखराको विकास र पर्यटनको गुरुयोजना बनाउने काम भइरहेको छ,’ उनले भने ।

उनले लेकसाइडलाई आवसीय क्षेत्र नभई व्यावसायिक क्षेत्र बनाउनेतर्फ व्यवसायीले पनि सोच्न आवश्यक रहेकोमा जोड दिए । ‘लेकसाइडमा हल्ला भएर सुत्न पाइएन भन्ने पनि सुनिन्छ । लेकसाइडलाई सुत्ने ठाउँ होइन, व्यावसायिक क्षेत्र हो भन्ने बनाऔं,’ उनले भने ।

एसियाली विकास बैंक, कोयकालगायत संस्थासँग मिलेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म आउन वैकल्पिक मार्ग विकास र यातायात क्षेत्रको सुधारसम्बन्धी कामको थालनी भएको मेयर आचार्यले जानकारी दिए । पोखरा विमानस्थल–फलेपाटन–वन विज्ञान अध्ययन संस्थान पोखरा–बिरौटा हुँदै लेकसाइडसम्म पुग्ने गरेर साढे पाँच किलोमिटर दूरीको वैकल्पिक मार्ग विकासको योजना रहेको उनले सुनाए ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरेली पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट उडान गर्ने वातावरण सरकारले गर्नुपर्ने बताए । ‘विमानस्थल पनि नाफामा चलाउने वातावरण बनाउनुपर्छ । छिमेकी देशको ग्रीन सिग्नल नहुँदासम्म हुँदैन । यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट (जी टु जी) वार्ता गर्न आवश्यक छ,’ उनले भने । भारतबाट सिधा उडान हुन सके र कोरला नाका खोल्न सके पोखरेली पर्यटन क्षेत्रको विकास हुने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले व्यवसायीको तर्फबाट आफूहरुले अहिले पोखरा–बंगलादेश उडान गर्न पहल गरिरहेको जानकारी दिए । ‘व्यवसायीले पहल गरेकोमा त्यहाँका विमान कम्पनी खुसी छन् । तर, यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट (जी टु जी) पहल गर्नुपर्छ,’ उनले भने ।

होटल व्यवसायी पुष्पराज अधिकारीले होमस्टेलाई सरकारले लगानी गर्नु अनुत्पादक भएको जिकिर गरे । उनले होमस्टेमा खर्च गर्नेभन्दा ठूलो खर्च गर्ने क्षमताका पर्यटक नेपाल भित्र्याउने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले भविष्यको पोखरा कल्पना गरेर अहिल्यै त्यसैअनुसारको पूर्वाधार विकासको तयारी थालिनुपर्नेमा जोड दिए । ‘पछि मेट्रो फ्लाइओभर कहाँ राख्ने भन्ने अहिले नै सोचौं,’ उनले थपे, ‘हामी फूल फुलाउन जोड गरौं मौरी पाल्न होइन । मौरी आफैं आउँछ । महत्वकांक्षा पालौं ।’

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) बुद्धिराज गुरुङले शान्ति सुरक्षा कायम गर्दा व्यवसायीलाई अप्ठेरो परे पनि त्यसलाई अन्यथा नलिन आग्रह गरे । कानुन कार्यान्वयनमा व्यवसायी पनि इमानदार भएर सहयोग गर्नुपर्ने उनको भनाइ थियो । अग्रज पर्यटन व्यवसायी लक्की क्षेत्रीले पर्यटनमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइन् ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले पर्यटन क्षेत्रलाई दीगो बनाइराख्न नयाँनयाँ गन्तव्यको खोजी र विकास भइरहनुपर्ने बताए । ‘एउटा ट्रेकिङ रुट यो वर्ष बन्यो भने अर्को वर्ष नजिकैसम्म सडक पुग्छ । पर्यटक बस्ने, घुम्ने र धेरैभन्दा धेरै खर्च गर्ने अवस्था नभएपछि पर्यटन क्षेत्र दीगो हुँदैन,’ उनले भने । रक क्लाइम्बिङ, हनी हन्टिङ पर्यटकलाई देखाएर त्यसलाई पर्यटन क्षेत्रको नयाँ आयाम बनाउन सकिने त्रिपाठीको भनाइ थियो ।

बैंकर्स संघले ब्याजदर तोक्नु कार्टेलिङ हो, राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ :  पूर्वबैंकर क्षेत्री Read Previous

बैंकर्स संघले ब्याजदर तोक्नु कार्टेलिङ हो, राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ : पूर्वबैंकर क्षेत्री

बैंकमा पैसा थुप्रिएपछि फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक, दुई सातामै ५० अर्ब तान्दै Read Next

बैंकमा पैसा थुप्रिएपछि फेरि २० अर्ब खिच्दै राष्ट्र बैंक, दुई सातामै ५० अर्ब तान्दै