काठमाडौं । अन्य क्षेत्रमा जस्तै हवाई यातायातमा पनि वायुसेवा प्रदायकहरूको कार्टेलिङ गर्दा यात्रुहरू महंगोमा यात्रा गर्न बाध्य छन् । एयरलाइन्स कम्पनीहरूले सहमतिमा एउटै भाडादार कायम गरी प्रतिस्पर्धा नगर्दा यात्रुहरू विकल्प छनोट गर्न बञ्चित भएका हुन् ।
यसको अनुमोदन भने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नै गर्ने गरेको छ । सेवा प्रदायकहरू भाडा घटाएर प्रतिस्पर्धी बनाउन तयार छैनन, बरु क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर विमान उडाउँछन् ।
वायुसेवा कम्पनीको भाडा बजारलाई नै तय गर्न दिनुपर्ने नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशक बताउँछन् । ‘विमान कम्पनीहरूले आन्तरिक उडानको सन्दर्भमा भाडामा कार्टेलिङ गरेकै छन् । यसलाई रोक्न नियामकले बजारलाई नै छोडिदिनुपर्छ,’ उनले भने, ‘पर्चेजिङ पावरका कारण उसै पनि न्यून आय भएकाहरूको पहुँचमा हवाई सेवाले छुन कसेको छैन । खुला छोडेर प्रतिस्पर्धा गर्न दिए पछि सहज हुन्छ ।’
नेपालमा हरेक क्षेत्रमा शासकहरूको मानसिकतामै बजारमाथि हस्तक्षेप गरेर उपल्लो वर्गको लागि मात्रै सोच्ने प्रवृत्ति देखिएको उनले बताए ।
नियामकको अनुमोदन
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नै वायुसेवा कम्पनीको हवाई भाडा तोक्ने गरेको छ । प्राधिकरणले हवाई इन्धनको मूल्यमा भएको घटबढ अनुसार भाडा तालिका सार्वजनिक गर्ने गरेको छ । नियामक आफैले हवाई कम्पनीको भाडा तोकिदिँदा सबैको भाडादर समान भएको छ ।
जसको कारण उपभोक्ता सेवाप्रदायकको खुला प्रतिस्पर्धाबाट लाभांवित हुन सकेनन् । हवाई क्षेत्रका जानकारहरू नियामक आफैले भाडा तोकेर कार्टेलिङको अनुमोदन गरिहेको बताउँछन् ।
खुला बजार अर्थतन्त्रको प्रमुख विशेषता भनेको प्रतिस्पर्धा हो । सेवा प्रदायक वा उत्पादक बीचको प्रतिस्पर्धाले वस्तु वा सेवाको गुणस्तर वृद्धि भएर मूल्य घट्छ । यसबाट आम उपभोक्ताले सस्तो र आफ्नो चाहना अनुसार वस्त् तथा सेवा रोज्न पाउँछन् । तर, नेपालमा हरेक क्षेत्रमा सीमित व्यापारी, उत्पादक र सेवा प्रदायकहरूको सिन्डिकेट छ ।
यस्तो सिन्डिकेटले प्रत्यक्ष रूपमा उपभोक्ता तथा आम नागरिकको टाउकोमा हानेको छ । नागरिकको सुविधा र प्रतिस्पर्धी अर्थतन्त्र निर्माणका लागि नै आर्थिक उदारीकरणको अवधारणा आएको हो । तर, बाहिर खुला बजार तथा प्रतिस्पर्धा देखाएर सारमा कार्टेलिङ छ । जसको कारण चाहेर वा नचाहेर सो कार्टेलिङको उपभोग गर्न सेवाग्राही बाध्य छन् भने उनीहरूलाई छनोट गर्ने छुट छैन ।
प्राधिकरणका अधिकारीहरू भने सेवाग्राहीकै हितलाई केन्द्रमा राखेर वायुसेवा कम्पनीलाई मनलाग्दी भाडा तोक्न नदिन यस्तो नीति लिएको बताउने गरेका छन् ।
वायुसेवा प्रदायक बीच छैन प्रतिस्पर्धा
उडान गर्ने वायुसेवा कम्पनीले प्रायजसो समान भाडा तय गर्ने गरेका छन् । जसको कारण कम्पनीहरू बीचको प्रतिस्पर्धा छैन । नेपालमा आन्तरिक उडानको आधाभन्दा बढी हिस्सा ओगटेको बुद्ध एयरका प्रवक्ता प्रवक्ता दीपेन्द्र कर्ण नियामकले तोक्ने भाडा नै प्रदायकहरूले कार्यान्वयन गर्ने बताउँछन् ।
‘भाडाको विषयमा आधिकारिक निकाय भनेको नागरिक उड्डयन प्राधिकरण हो । उसले नै तोकेको भाडा अनुसार हामीले लिने हो,’ उनले भने, ‘यसको अर्को महत्वपूर्ण फ्याक्टर भनेको इन्धन हो । एयर फ्युल घटबढ हुँदा आफै घटबढ हुन्छ ।’
अहिले वायुसेवा कम्पनीहरूले ८० देखि ९० प्रतिशत अकुपेन्सी राखेर उडान गरिरहेका छन् । महंगो भाडाका कारण कमजोर आर्थिक अवस्था भएकाहरूको पहुँचमा हवाई यातायात छैन ।
कम्पनीहरू बरु यत्ति क्षमतामै उडाउन तयार छन् । तर, भाडा घटाएर पूर्ण अकुपेन्सी बढाउन चाहन्न । कर्ण अन्य क्षेत्रको मूल्य वृद्धिको तुलनामा हवाई भाडा अहिले पनि कमै भएको दाबी गर्छन् ।
‘२०/२५ वर्षको अवधिमा हेर्ने हो भने एउटा निजामति कर्मचारीको तलब कति बढ्यो, योसँगै डलर, इन्धन लगायतको मूल्य निकै बढेको देखिन्छ,’ उनी भन्छन्, ‘तर, हवाई भाडा त्यसरी वृद्धि भएको छैन । ७/८ वर्ष अघि विराटनगरको भाडा ३५/३७ सय थियो भने अहिले पनि ४ हजार ४५ सयमा उड्न पाइन्छ ।’