काठमाडौं । विदेशी पर्यटकको आवगमनमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२३ को पहिलो ५ महिनामा विदेशी पर्यटकको संख्या झन्डै दोब्बर अर्थात् यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढेको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को जुनसम्म ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो ।
सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल ५ लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८१५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९०१ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ र मेमा ७७ हजार ७०३ र जुनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।
जुन महिनामा भारतबाट ३८ हजार ४४५, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बङ्गलादेशबाट २ हजार ४०२, युनाइटेड किङ्गडमबाट १ हजार ९९२, अष्ट्रेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ र भुटानबाट ७०२ जना पर्यटक नेपाल आएका छन् ।