नारायणगढ-मुग्लिन सडकमा वर्षायाम भरी पहिरोकाे सास्ती, यी ठाउँमा उच्च जोखिम

काठमाडौं । वर्षायाम सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले हैरानी बनाउन थालेको छ । दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो ।

निरन्तर पहिरो खसिरहँदा पन्छाउन समेत समस्या हुने गरेको छ । भित्ता कटानका क्रममा बनेका अग्ला डाँडा र यसअघि नै भएका अग्ला पहाडमाथिबाट ठूला ढुंगासहित पहिरो खस्दा सडक खुलाउन कठिन हुने गरेको छ । जसकारण हजारौं सवारीसाधन र यात्रु बीचबाटैमा अलपत्र पर्ने गरेका छन् ।

बिहीबार इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा खसेको सुख्खा पहिरोका कारण झन्डै ३० घण्टासम्म आवतजावत ठप्प भएको थियो । शुक्रबार बेलुका खुलेको सडक शनिबार फेरि अबरुद्ध भएको छ । अब यस्तो क्रम वर्षायाम भरी रहने देखिन्छ । ३६ किलोमिटर लामो यस खण्डका ३ दर्जन बढी ठाउँ पहिरोको जोखिममा रहेका छन् ।

घण्टौं लगाएर एकठाउँको पहिरो पन्छाए पनि ठूलो पानी पर्ने बित्तिकै फेरि अर्को ठाउँमा पहिरो खस्ने भएकाले यस राजमार्गको यात्रा कठिन बनेको छ । कतिबेला बुन ठाउँमा पहिरो खस्छ भन्ने निश्चित हुँदैन ।

यस सडकमा विगतमा पनि पहिरोले सास्ती दिँदै आएको थियो भने विस्तारपछि झनै धेरै पहिरो खस्न थालेको छ । पहिरो नियन्त्रणका लागि मात्रै ४० करोड बढी खर्चिए पनि त्यो प्रभावकारी हुन सकेको छैन । २ अर्ब ९० करोड खर्च गरी ३ वर्ष लगाएर विस्तार गरिएको यो सडकको ३१ ठाउँमा पहिरो नियन्त्रणको काम गरिएको थियो । अहिले फेरि १९ ठाउँमा पुल निर्माणका लागि भित्ता कटान गर्दा पहिरोको जोखिम झनै बढेको हो ।

यी ठाउँ उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिराको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ । विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ ।

उनका अनुसार यकिन जानकारी आइ नसके पनि टोलीले प्रारम्भिक अध्ययनका आधारमा मौरीखोलामाथिको एकापट्टि डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको छ । सो ठाउँमा २५ हजार घनमिटर हाराहारी पहिरो खस्न सक्ने विज्ञ टोलीको अनुमान रहेको छ । प्रमुख डिभिजनल इन्जिनियर पौडेलले भने, ‘आठ(दश हजार घनमिटरसम्म त धान्न सकिन्छ । बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ ।’

पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ । सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । पछि पहिराले तत्कालीन समयमा गरेको काम बगाएको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गरेका ई शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै ७०० मिटर लम्बाइ क्षेत्र पहिरामा संरचना बनेकाले चलायमान छ ।

यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आकलन गरेको खनालले जानकारी दिए । सो सडकको ४ किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ ।

यस्तै सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।

एक्साभेटर तयारी अवस्थामा

यसखण्डमा धेरै ठाउँमा पहिरो गइरहने भएपछि डिभिजन सडक कार्यालय चितवनले स्काभेटरहरु तयारी अवस्थामा राखेको छ । यस्तै, यस खण्डमा पुल निर्माण गरिरहेको अनक कन्स्ट्रक्सनले पनि पहिरो हटाउन स्काभेटर, डोजर तयारी अवस्थामा राखेका छन् ।

डिभिजन कार्यालय चितवनले वर्षात्को समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ ।

सडकखण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चारवटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ । चौधवटा पुलमध्ये केही सञ्चालनमा आएका छन् भने अन्य निर्माणाधीन रहेका छन् । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो ।

सुदूरपश्चिममा ६० प्रतिशत रोपाइँ गर्न बाँकी Read Previous

सुदूरपश्चिममा ६० प्रतिशत रोपाइँ गर्न बाँकी

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध Read Next

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध