काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले हाइड्रोपावरमा झन्डै ३ खर्ब रुपैयाँ बढी लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत मसान्तसम्म क्षेत्रगत कर्जा प्रवाह अन्तर्गत बैंकहरूले २ खर्ब ८४ अर्ब ७७ करोड लाख रुपैयाँ कर्जा लगानी गरेका हुन ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कृषि, हाइड्रोपावर, साना तथा मझौला उद्योगको क्षेत्रमा कर्जा प्रवाह बढाउन न्यूनतम लगानीको सीमा तोकेको छ । पछिल्लो समय जलविद्युत् आयोजना निर्माण गर्ने क्रम बढेसँगै बैंकहरूले पनि लगानी बढाएका हुन् ।
कर्जा लगानी विविधिकरण गर्ने नियामकको नीति अनुसार २०८० असार मसान्तसम्म ७ प्रतिशत, २०८१ असार मसान्तसम्म ८ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा उर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
बैंकहरूले यसअवधिसम्म प्रवाह गरेको कुल कर्जाको हाइड्रोपावर क्षेत्रको यो हिस्सा ६.५७ प्रतिशत हो । चैत मसान्तसम्म बैंकहरूले ४३ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ कुल कर्जा लगानी गरेका छन् ।
लघु तथा ठूला जलविद्युत आयोजना निर्माणको क्रमले बढ्दो छ । सोही कारण बैंक तथा वित्तीय संस्थाले लगानी पनि बढाएका छन् ।
कुनको कति छ लगानी ?
हाइड्रोपावरमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले लगानी गरेको छ । वाणिज्य बैंक मध्ये चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठूलो रहेको यस बैंकले २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
यस क्षेत्रमा सबैभन्दा कम एनआइसी एसिया बैंकको ऋण लगानी रहेको छ । एनआइसीले ४ अर्ब रुपैयाँ लगानी गरेको छ । कुमारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २३/२३ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् ।
नबिल बैंकले २१ अर्ब, एनएमबी र राष्ट्रिष्य वाणिज्य बैंकले १८/१८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार प्रभु र सानिमाले १४/१४, सिद्धार्थ र हिमालयनले १२/१२ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
यसैगरी, नेपाल र एभरेष्ट बैंकले ११/११ अर्ब, प्राइम सनराइज, सिटिजन बैंकको हाइड्रोमा १०/१० अर्ब रुपैयाँ बढी लगानी पुगेको छ ।
लक्ष्मी, एसबीआई, माछापुच्छ्रे बैंकको ८/८ अर्ब रुपैयाँ बढी, कृषि विकास बैंक ७ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ अर्ब रुपैयाँ बढी हाइड्रो क्षेत्रमा लगानी गरेको छ ।