काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन भइरहेको (ट्रान्सफर स्टेसन) निर महानगरले आधुनिक सुविधायुक्त प्रशोधन केन्द्र निर्माण गर्ने भएको हो ।
हाल अव्यवस्थित रूपमा रहेको उक्त प्रशोधन केन्द्रलाई महानगरले रेनोभेट गरी व्यवस्थित बनाउने याेजना बनाएकाे हो । महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले टेकुस्थित फोहोर प्रशोधन केन्द्र रिनोभेट गरेर व्यवस्थित बनाउन लागिएको बताए ।
उनले ट्रान्फरर्मर स्टेसन भित्र अव्यवस्थित रूपमा फोहोर राखिने फोहोर र गाडीलाई व्यवस्थित बनाउन लागिएको बताए । उनले फोहोर प्रशोधन र व्यवस्थापनका लागि ३ तले आधुनिक भवन बनाइने जानकारी दिए ।
उनले उक्त स्थानमा भवनसँगै बगैँचा, पार्किङस्थल लगायत निर्माण गरिने बताए । भवन निर्माणका लागि आगामी वर्षमा ५ करोड रुपैयाँ बजेट समेत छुट्याइएको उनले बताए ।
‘अहिले फोहोर बाहिरै राखिन्छ, गाडीहरू जथाभावि पार्किङ भएका छन्, चरादेखि किरा सबै घुमिरहेको अवस्थामा स्टेसन रहेको छ, यसलाई व्यवस्थित बनाउन अब पार्क र पार्किङसहितको भवन बनाउने योजना छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
उनले आगामी आर्थिक वर्षभित्रै डिजाइन सम्पन्न गरी ठेक्का लगाइने बताए । ठेक्का प्रक्रिया टुंगिन साथ निर्माण अघि बढाइने बताए ।
उनले उक्त भवन भित्रै फोहोर सेग्रिगेट (छुट्याउने काम) गरी कुहिने/नकुहिने फोहोर छुट्याउने बताए । उनले सुपर मार्केटमा कपडा, सामान पाए जस्तै उक्त ट्रान्सफर स्टेसनमा फोहार छुट्याएर राखिने बताए ।
कुहिने फोहोर बायो ग्यास तथा मल बनाउनका लागि प्रयोग गरिनेछ । पुनः प्रयोग हुने खालका फलाम, सिसा लगायत वस्तुहरूलाई उचित प्रविधिमार्फत व्यवस्थापन गरिने छ भने बिक्री हुन सक्ने वस्तुहरू कवाडीमा बिक्री गरिने छ ।
प्लाष्टिक मुक्त काठमाडौं बनाउन समेत टेकु ट्रान्सफर स्टेसनले ठूलो भूमिका खेल्ने उनले बताए । उनका अनुसार हाल उक्त स्थानमा बायो ग्यास प्लान्टको मर्मत गरी प्रशोधनको तयारी अवस्थामा राखिएको छ । उक्त स्थानमा विभिन्न उपकरणहरू राखेर त्यसलाई अझै व्यवस्थित बनाउँदै लगिने उनले बताए ।
सन् १९८१ मा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी जर्मन प्राविधिक सहयोग एजेन्सी (जीटीजेड) को सहयोगमा टेकु प्रशोधन केन्द्र स्थापना गरी प्रांगारिक मल बनाउन थालिएको थियो । ९ वर्ष अघि बायो ग्यास प्लान्ट स्थापना गरिए पनि संचालनमा आउन सकेको थिएन । अहिले मर्मतसम्भार भइसकेकाले चाँडै संचालनमा ल्याउने महानगरको तयारी छ ।