काठमाडौं । सेयर बजारमा उछाल आएको छ । माइक्रोफाइनान्स र बैंकिङ समूह चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि भएको हो ।
यसअघि होटल, बीमा कम्पनी, फाइनान्स कम्पनीहरुको सेयरमा झुम्मिएका लगानीकर्ता आज माइक्रोफाइनान्समा डाइभर्ट भएका हुन् ।
नेप्से लगातार दोहोरो अंकले बढेको आज तेस्रो दिन हो । ३ कारोबार दिनमै नेप्से १३० अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १६ करोडले बढेर ५ अर्ब ४७ करोड पुगेको छ ।
मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ । यसदिन २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ८.९६ प्रतिशतले बढेको छ ।
आज पनि स्वाबलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे २२ करोड र सोल्टी होटल २२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ३ दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स, निर्धन उत्थान, डिप्रोक्स, नेरुडे, ग्रामीण विकास, लक्ष्मी, मिर्मिरे, किसान, जनउत्थान, विजय, सूर्योदय, मेरो, फरवार्ड लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, समता, स्वाभिमान, सबैको, इन्फिनिटी, एनआइसी एशिया, महिला, नेशनल, आरएसडीसी, सामुदायिक, श्रृजनशील, साधना लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ ।